गाईलाई गधा बनाउने भए
कार्यालयमा निवेदन दर्ता गर्नु
र भोलिपल्ट आउनू
गाईलाई गाई नै भनाउने भए
कार्यालयमा निवेदन दर्ता गराउनू
र अर्को महिनाको अन्त्यतिर
काम हुने-नहुने बुझ्न आउनू

चमत्कारको बादल बनेर
कामका पोकाहरू
कोराको कपडामा बेरिएर पल्टिएका
टेबुलमा छरिएका
दराजमा कोचिएका
यतै कतै, वा
झ्यालबाहिर
तिम्रो निवेदन
चौरमा धुँवाइरहेको
वा कागजको खातमा हराइरहेको
जे पनि हुनसक्छ !

त्यहाँ अवकाश पाउन नसकेको
एक राष्ट्रिय प्रतिनिधि
मौसमको आँकलन गरिरहेको हुन सक्छ –
आज उसको झोलीमा
चमत्कारको पोकाबाट
कति वर्षा हुन्छ ?
वा, खडेरी पर्छ
वा , अति वर्षा हुन्छ ?

उसलाई रिझाउनु छ भने
तिमी
खेतले नपुग्ला
देश बेच्ने कुरा गर
इमानको बिक्री त –
छोराछोरीलाई चकलेट किन्नमै सकिन्छ
मान्छे बेच्ने कुरा गर
मान्छे मार्ने कुरा गर
मान्छे लडाउने कुरा गर
ठुलाठुला कुरा गर
उधारो होइन-
नगदमा कुरा गर !

तयार भएर जानू
तिम्रा सजिला कुरा
कसरी दाँतमा लाग्ने ढुङ्गा बन्ने छ
– सुन्नलाई !
कार्यले असम्भव, नीतिले अनैतिक
नियमले अनियमित
विस्तारले व्यापक, आकारले भयंकर
अद्भुत कुरा
कसरी तुच्छ, सरल र फलित हुनेछ
– जान्नलाई !

गर्न नहुनेलाई गर्न हुने बनाउन छ भने
कार्यालयमा निवेदन दर्ता गर्नू
र भोलिपल्ट आउनू
गर्न हुनेलाई गर्न हुने बनाउन छ भने
कार्यालयमा निवेदन दर्ता गराउनू
र अर्को महिनाको अन्त्यतिर
काम हुने-नहुने बुझ्न आउनू ।

श्रवणकुमार ढुंगाना