आँखा अखबारमा
रिमोट हातमा
बन्जर जमिनमा उम्रेको राजनीति
समानताको बिउ नासिदै छ
सोचेको नहुँदा अमिलो भैरहने मनाँ
उठ्ने ज्वारभाटा पोष्ट्याउने बानी
निरन्तर चलिरहेको छ
मान न मान मैं तेरा मेहमान
आन्दोलन जारी छ
घराँ नयाँ सदस्य थपिएको छ
नयाँ जोश जाँगर तरङ्गित छ
साँवा भन्दा ब्याज प्यारो छ
बुआइ भन्दा दङ्ग पर्छु
बाजे भन्दै भन्दिनँ
बुआइ के हो था छैन
बाजे नासियो मासियो हाम्रै पालादेखि
सानवी !
सरकारी जागिरे जस्तै बोल्छिन्‌
साच्चिकै बाल शब्दकोष चाहिने भएको छ
रजौटाको साहित्य लेख्‌ने देशाँ
बाल शब्दकोष कसले लेखोस्‌
अपजसे काम कसले गरोस
तोतेबोली आफैँमा अनन्त शब्दकोष छ
विशाल शब्दकोष श्रुतिकोष छ
निश्छल निर्मल निर्झर कोष
मनोचिकित्सालय हो बुढाबुढीको
खेल मैदान हो मनोरञ्जनको
ऊ हाँस्दा घरै उज्यालिन्छ
मनोभाव बुझ्न धुरन्धर चाहिन्छ
ऊ शब्द निर्माण फ्याक्टरी हो
शब्दकोषविहीन शब्दकोष हो
हाउभाउको खजाना हो
महाविद्यालयको शोध निर्देशक हो
धर्ती सफा गर्ने बर्खेनदी हो
चटपटे नटखटे मुहान हो
आजभोलि धुरन्धर माडसाप बनेको छु
गमला देखाउँदै बगैँचा हो भन्छु
साँगुरो सडक देखाएर आँगन हो भन्छु
आकासिएको छत देखाउँदै नीलगगन भन्छु
निस्सासिएको उकुसमुकुस भ्याली देखाउँदै
संघीय राजधानी सिकाउँछु
नाक थुनेर फोहर देखाउँदै
शहरे संस्कृतिको परिचय दिन्छु
पोके दूध देखाएर गाईको दूध भन्छु किन्छु
नागार्जुन, चन्द्रगिरी, गोदावरीको टाउके देखाउँदै
हरियो वन देशको धन भन्छु
चाउरी परेका गाला चिमोठ्दै नातिनी खिस्स हाँस्छे
पावरवाला चश्मा च्याप्प समात्दै फाल्छे
बेलाँ बेलाँ तुर्‍याएको तातो छाम्छु
न ऊ था पाउँछे न म पाउँछु
निथ्रुक्क हुँदा झसङ्ग हुन्छु
मकैको रोटी होइन बिस्कुट किनेर दिन्छु
माणा होइन पिजा बर्गर खा भन्छु
घुमाउन घरआँगन कहाँ पाउनु
फकाउन खुवाउन मोबाइल थमाउँछु
लोरी होइन गोरीका बालगीत सिकाउछु
उसका पाइला पाइलामा अमेरिका
क्यानाडा, जापान, अस्ट्रेलिया, कोरिया
कोरिएको छ कि छैन हेर्छु
परख नपाई असमञ्जसमा छु ।

महालक्ष्मी -१, ललितपुर