आह्वान

 

मेरो आह्वान
प्रेमोपहारको सुसन्देश
मानव बीचका
तँ छाड
म छाडका
घातक रुढी हटाउनु छ
पल्टाउनु छ
मेरो चाहना
देशको बहाना
जागृत गराउनु छ
स्वतन्त्रताभित्र
ती गुम्सिएर बसेका
तरङ्गित चित्र
खोज्नु छ छालहरूभित्र
अनि कोर्नु छ
निर्माण गर्न
आह्वानसाथ गति सचित्र


र मेरा आफन्त भन्ने
स्वार्थपूर्णपन
हटाएर मात्र
हाम्रो बनाएर
विकासे नारा
घन्काउन छ राम्रो
पन्छाऊ ती गल्लीका
भुस्याहा
घुस्याहाहरू
सङ्कीर्ण सोचका
छली
र कपटीहरू
देश बनाउन हाम्रो

एकनास सगोलमा
जागरणको
बिगुल फुक्ने
हाम्रो प्रार्थनामा
सचेतनामा
जतनमा
कचिङ्गल साफ गर
छुद्र
बोलीव्यवहार हटाएर
स्वच्छताको लागि पछुताऊ

नाराजुलुस
तिम्रा
ती धम्की सुन्नु छैन
असत्यलाई
शुध्दताले छम्की
शुध्दिरण गर्न बनाऊ
अमनचैन

भन्नेकै ताँती छन्
मेरो देश
मेरै भाषा
र पहिरन
तर विकृतिले
जरा गाडेछ
युवा विदेश पलायन छ
सक्छौ बगाऊ पसिना
हाम्रै देशमा
सक्दैनौ त नउफ्रन
ए, नकाबधारीहरू !
रगत बगाऊ
देशका लागि
बन्ने नै छौ
ताजका भागी
स्वर्णिम अक्षरमा
लेखाऊ नाम
जागृतिको आह्वान
शुध्दताको आह्वान
एकताको आह्वान
ममताको आह्वान
समताको आह्वान
जनताको आह्वान
हाम्रै महान् !
प्रार्थनाको आह्वान !

▪️जमुना कायस्थ
पोखरा

~~~~~~~~~~ <•> ~~~~~~~~~~

आह्वान

 

रिसाएको छ
प्रकृति बौलाएको छ
खोलाले
गाँस बगायो
बास बगायो
बगायो तिमी
र मसँगै बनाउने
पुल भत्कायो मनका
अनगिन्ती रहरहरू
क्रोधको
मुक्काले हानेर
छातीमा
आँखामाथि
बाढी चलायो
छातीमा
पैरो झार्यो
बगायो थुप्रै निर्दोष
मनहरू
वर्षौँ यताको
बदला लिएर
बा
पुर्पुरोमा हात राखेर
घर
खेत
ओछ्यान
भरेको गाँस
सम्झिदै हुनुहुन्छ
आमा
आफ्ना
हातका हस्तरेखा
हेरेर भाग्यको
तराजुमा
आफूलाई जोख्दै
खोपीको सानो दियो
बाती सल्काउँदै
जीवनको
कामना गर्दै हुनुहुन्छ
दाजु बेपता छन्
बैनीको
नाजुक अवस्था छ
छिमेक परदेश बनेको छ
तिमी कुर्सी छोडेर
आऊ !
दाजुलाई खोज्न सघाऊ
बैनीको
उपचार गर
बालाई सान्त्वना देऊ
चिसो चुलोमा
आगो सल्काएर
आमाको
ओठमा थोरै मुस्कान छर
चर्किएको छातीमा
मलम बोकेर आऊ
टुक्रिएका मनहरूको
डक्टर
भोकको खाना
लाजको लुगा
तिर्खाको पानी
तिमी के के बन्न सक्छौ बन
तिमी !
तिमीजस्तै हुनु

मजस्तै बन्नेछु
परिवर्तन तिमी
र मबाट सुरु हुनुपर्छ
झगडा नगर
कुर्सीकै निम्ति
आफ्ना
र आफन्तसँग
भो नमाग फेरि
त्यही कुर्सी
मागोस् कुर्सीले
कुनै दिन
तिमीलाई !

▪️उमा ओडारी
पाँचथर

~~~~~~~~~~ <•> ~~~~~~~~~~

आह्वान

 

राष्ट्रियता
सम्बृद्धि
र विकासको
आह्वान छ
आपसी
बेइमानी छाडेर
देशको उन्नति
अनि विकासमा
जुट्न आह्वान छ
कपट
जालझेल छाडेर
उन्नति
र विकासको
आह्वान छ
भ्रष्टाचारको अन्त्य गर्दै
सुशासनको
आह्वान छ
सहारा नहुनेलाई
सहयोग
र सद्भावको
विकासको आह्वान छ
जनतालाई
आमूल परिवर्तन
खाँचो छ
निजी स्वार्थमा
झुन्ड बनाउँदै
दादागिरी
नगर्न आह्वान छ
वर्षौँ झगडामा
बिते पनि
अब झगडाको
अन्त्यको आह्वान छ
नौटङ्की नगर्न
आह्वान छ
अब विश्राम लिई
युवाको काँधमा
जिम्मेवारी सुम्पन
आह्वान छ
राजनीति गर्न
योग्यताको
आह्वान छ
इमान्दारीको
आह्वान छ
ब्रह्मलुट नगर्न
आह्वान छ
एकजुट भई
भ्रष्टाचारको
अन्त्यमा जुट्न
आह्वान छ
सत्य

असत्य चिन्न
आह्वान छ
रोजगारी
समानता
शिक्षा
स्वास्थ्य
ग्यारेन्टी गर्न
आह्वान छ
होइन भने
तिम्रा
आफ्नै स्वार्थका
झुन्डहरूको
कुनै तुक छैन
नेल्शन मण्डेलाजस्तो बनेर देखाऊ
अनि विश्वास
र भरोसा गर्न सकिएला
त्यसैले
मण्डेला बन्न
आह्वान छ ।

 

▪️तेजप्रसाद खनाल
दाङ

~~~~~~~~~~ <•> ~~~~~~~~~~

आह्वान

म अटल
अमर
अविनासी ब्रह्म हुँ
ब्रह्माण्ड मेरो अस्तित्व
चलायमान सृष्टि
उन्नत जीवनदृष्टि बुझेर

विश्व रचयितालाई
आह्वान गर्छु
यो विशुद्ध
पवित्र दुनियाँ
आदिकालदेखि
अनादि कालसम्म
काम
क्रोध
लोभ
मोहको बसमा परी
कसैले
प्राकृतिक नियमलाई बिथोल्ने
प्रयास नगर्नू
यो आफैँमा एक सत्य छ
र शाश्वत आधारमा टिकिरहनेछ
यो विश्वस्तता
पृथ्वीबासीलाई
अवगत गराउन चाहन्छु ।

▪️लक्ष्मी रायमाझी
विराटनगर

~~~~~~~~~~ <•> ~~~~~~~~~~

आह्वान 

 

राष्ट्र
र राष्ट्रियताको
विकासको लागि
आह्वान छ
छलकपट नगर्न
भ्रष्टाचार नगर्न
आह्वान छ
आपसी मेलमिलाप गर्दै
काँधमा काँध
हातमा
हात मिलाउँदै अघि बढ्न
आह्वान छ
आफ्नो देशका
युवाहरूलाई
आफ्नै देशमा
रोजगारको
अवसर दिलाउन
आह्वान छ
सबै छोराछोरी
विदेशिएर
घरमा एक्लो
आमाबुवा बस्नु परेको छ
छोराछोरी भएर पनि
नभएजस्तो
खोलानाला
बाटोघाटो
निर्माणको
आह्वान छ।

▪️सरस्वती श्रेष्ठ
इटहरी

~~~~~~~~~~ <•> ~~~~~~~~~~

आह्वान

बच्चादेखि
वृद्धसम्म
अब उठ
प्रभातको लाली छायो
पालो हाम्रो
आउनै पर्छ
उज्यालो छाउनै पर्छ
एक अथक यात्रामा
कोमल पाउ चालौँ
आ~आफ्नो कर्तव्य बोकेर
अधिकार फेरि खोजौँला
प्रगतिको मार्गमा
अब हिँड्नै पर्छ
ए, किसान !
सबैको जिउपालक बनेर उठ
प्रत्येक समितिलाई तताऊ
कर्मचारीलाई
कर्म गर्न सिकाऊ
कलाकौशलको
मूल फुटाउन
अर्धहरूलाई
सचेतनाले
बिउँझाउनै पर्छ
भ्रष्टको कठालो समाउन
अब मूकदर्शक भएर होइन
न्यायलय खुल्ला हुनै पर्छ
व्यवस्थापिका सुत्नु हुन्न
कार्यपालिका
सही दिशामा लाग्नु पर्छ
नत्र
सरकारलाई निमोठ कान
लङ्गडो बन्ने होइन भनेर
विदेशीको चाकरीमा
लम्पसार परेर होइन
निमुखाको उन्नतिलाई
काँधमा लिएर
हातेमालो गर्नै पर्छ
हर स्थानबाट
उठ्नै पर्छ
जुट्नै पर्छ
बहुभाषिक
बहुजातीय
बहुसांस्कृतिक
परिपाटीको
उन्नयनका लागि
सामन्तको फोहर फालेर
एक स्वस्थ समाज
एक वृहत्तर योजना
बहुआयामिक
सोच हुनुपर्छ
र होस्
यही छ
आह्वान !

▪️प्रेम थापा “मन”
बागलुङ