तिमी
त्यो आकाश माथि माथि
उडी हिँड्ने काली बादल हौ
म त्यो हुँ
तिमीलाई अँगालो हालेर
उभिरहने चिसो पहाड

खोला, खोल्चा र नदी नाला
मेरो आँखा हुन
भने-
तिमी बर्खा पोखिएर जाँदा
आषाढ
श्रावण
र भाद्र
भेल भई रोइदिने
म अभागी पनि हुँ

म शीत खेलाउँछु
म हिउँ खेलाउँछु
अनि
अनावश्यक चलायो कसैले!
म बेलाबेला आगो पनि खेलाउँछु

तिमीले चट्याङलाई खेलाउँदै गर्दा
अचानक हातबाट छुटे भने
छाती थाप्ने म वीर हुँ
तिम्रो सघन बर्खाले उजाडेका रक्तम्मे
अनुहारको थाप्लोमा अवस्थित विद्यालय भित्रका नानीहरूका भयभित मन
र पहिरोले चाटिराखेका त्यो गाउँका
गाउँलेहरूका निधारमा प्रष्ट देखिने पसिना
बोकेर घाम पर्खिरहने
म दुःखी पनि हुँ

म पहाड हुँ
तिमी बादल हौ
यसमा कुनै संकोच छैन, आकाशलाई पनि
आकाशले क्षितिज मकहाँ लुकाएर जान्छ
म तुवाँलो चुसेर प्रदूषित फोक्सो हाप्दै
क्षितिज थामेर उभिरहन्छु
मेरो काँध कहिल्यै थाक्दैन
किनकि
म तिमीलाई बादल भएर
उडिरहेको मन पराउँछु
मेरो उत्सुकता
तिमीलाई अँगालो हलेर बाँचिरहनु हो।

दार्जिलिङ, भारत