राखियोस् मलाई कुर्सीमा
गरियोस् प्रबन्ध मेसिनको
र चलोस् मेरो पोलिग्राफी टेस्ट
दिइयोस् मलाई औषधि
पारियोस् मलाई अर्ध बेहोस्
र गरियोस् मेरो नार्को टेस्ट
राखिऊन् सेन्सरहरू टाउकै भरि
नशाका एक एक उफ्राई नउम्किने गरी
यी मुटुका एक एक चालहरू समातिने गरी
र होस्, मेरो ब्रेन म्यापिङ टेस्ट
जज् साहेब!
मलाई आरोप छ
मैले उसलाई माया नगरेको
मलाई हिरासतमा लिइयोस्
प्रहरी अनुसन्धानले प्रश्नावली बनाऊन्
कडाकडा प्रश्नहरू
मलाई फनफनी घुमाएर सोधिऊन्
मेसिनको कुनै पनि चालबाट
म नउम्किने गरी
औषधिको प्रभावमा मस्त लठ्याइवरी
मलाई सकिन्जेल केरकार गरियोस्
के तिमीले उसलाई माया नगरेकै हो?
के तिमीले निमेष भरलाई भए पनि
अरु कसैलाई चाहेको हो ?
के तिमी ऊबिना बाँच्न चाहन्छौ ?
के तिमीलाई उसको याद आउँदैन ?
सोधियोस्, सबै सबै सोधियोस्
एक एक गरेर सोधियोस्
पूरा होसमा सोधियोस्
बेहोसमा सोधियोस्
जज साहेब !
नतिजा यस्तो आउनेछ कि
अदालतको कठघरामा ऊ धुरुधुरु रुनेछ
र म
इज्जतसहित रिहा हुनेछु ।
लिजबोन, पोर्चुगल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।