भाषा मरेको दिन
संस्कृति डाँको छाडेर रुन्छ
मातृत्व भक्कानिन्छ
विचार मलामी निस्किन्छ
भाषासँगै पहिचानको पनि मृत्यु हुन्छ
पहिचान धुवाँ भएर उडेपछि
खरानीको तातो डङ्गुरभित्र
एउटा गर्विलो इतिहास छटपटाउँदै सकिन्छ
त्यसैले
भाषा मर्नु भनेको इतिहास सकिनु हो
इतिहासै सकिएपछि
बुख्याँच्या जस्तै ठिङ्ग उभिएर दोबाटोमा
बाँच्नुको के अर्थ हुन्छ र साइँला?
त्यसैले हरयुगमा भाषाको खातिर
मानवताको खातिर
मानव इतिहासको खातिर
रत्नाकर वाल्मीकि भएर आउँछन्
भानु आदिकवि भएर उदाउँछन्
सत्यलोकको कहानी सुनाउँदै
लोकहितको कुरा गर्छन्
र त आज
भाषाको सुन्दर बगैँचामा
थरिथरिका फूलहरू हेर्दै
तिमी कविता लेखिरहेछौ
म कविता लेखिरहेछु
हाम्रा नानीहरू रङ्गीन पुतलीहरूसँग खेल्दै
इन्द्रेणी भविष्य कोरिरहेछन्
मलाई आज अतित- अनुरागको मात लागेको छ
पहिलो पटक मुहार हेरेर
म आमा भनेको सम्झिन्छु
बाबा भनेको सम्झिन्छु
मामा भनेको सम्झिन्छु
मेरो जिब्रोले मेरो `पहिचान’ दिएको दिन सम्झिन्छु
त्यो अलौकिक क्षण
तिमी पनि सम्झ त साइँला
ब्रह्माण्डका सारा प्रश्नको उत्तर खोज्न
टाढा दौडिनु पर्दैन
त्यहीँ कतै अगेनाको छेउ
हाम्रै नाभी गाडिएकै ठाउँमा
सारा प्रश्नको उत्तर पाउनेछौ
हो
हर अँगेनाहरूमा
आँगनहरूमा
भानु चिनेको दिन
भाषा चिनिन्छ
भाषा चिन्नु भनेको आमा चिन्नु हो
जसले भाषा चिन्दैन
उसले आमा पनि चिन्दैन
आमा नचिन्नेहरू
स्वयंलाई बिर्सिन्छन् र,
भयानक बरमुडा त्रिभुजमा सकिन्छन्
भानु त एक सभ्यता हुन्
सिङ्गो संस्कृति हुन्
मानव निर्मित भूगोलभन्दा धेरै माथि
राजनीतिभन्दा धेरै माथि
कुनै वादभन्दा माथि
कुनै सम्झौताभन्दा माथि
सार्वभौमसत्ताभन्दा पनि धेरै माथि
राखेर हेर त साइँला?
त्यहाँ हाम्रो मनको विशाल साम्राज्य छ
जहाँ तिम्रो र मेरो गीत मिल्छ
तिम्रो र मेरो धुन मिल्छ
तिम्रो र मेरो मनको आवाज मिल्छ
सुर, तार र सङ्गीत मिल्छ
र गीत गुन्जिन्छ “ मन त मेरो नेपाली हो” अनि,
तिमी मलाई ‘म’ जस्तै लाग्छ
म तिमीलाई ‘तिमी’ जस्तै लाग्छ
तिमी पहाडमा भए पनि
तराई र हिमालमा भए पनि
मनको कुनै दुरी हुँदैन
तिम्रो कपुरी ‘क’ र मेरो कपुरी ‘क’
एउटै धुलेपाटीमा लेखिएको हो
तिम्रो वर्णविज्ञान र मेरो वर्णविज्ञान
तिम्रो ध्वनिविज्ञान र मेरो ध्वनिविज्ञानको
प्रयोगशाला एउटै हो साइँला
हाम्रा ओठ, जिब्रो, तालव्य दन्त र कण्ठ्यको
सामीप्य
संसारका धेरै सम्बन्धभन्दा माथि छ !
किनकि
हाम्रो भाषिक डिएनए एउटै हो साइँला
भानु- डिएनए !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 






