त्यो
पानी परेर सफा भएको नीलो आकाश देखेका छौ
अनि
नीलो आकाशमा सेताम्मे बादल देखेका छौ
अनि बादल हावासँग रमाउँदै खेल्दै
डाँडापारि पुग्छ
बादल हिँडेको देखेर म बालापनमा छक्क परेथेँ
तर बादल हिँडेको रहेनछ
हावाले उडाएको हो
तर
बादल त्यो उडाउने हावासँग खुशी भएर उडेको छ
म उड्छु मेरो खुला आकाशमा
जिन्दगीको हावासँग रमाएर
त्यो हावा हिउँ परेर घरि चिसो होला
त्यो हावा खडेरी परेर घरि तातो होला
असिना खपेर
पसिना झारेर
जसरी पनि म जिन्दगीको गन्तव्य डाँडापारि पुग्छु
बादलको सेतो रङमा कुनै दाग छैन
न कुनै खोट नै
म पनि जीवनमा कुनै खोट लिदिनँ
कुनै दाग बोक्दिनँ
मेरो रहर मेरो चाहना
सेतो बादलझैं उड्ने
गुलाफ कसरी काँडामा फुल्यो वृतान्त सुनाउन सक्छौ
कमल कसरी हिलोमा फुल्यो भन्न सक्छौ
निसंकोच आज म तिमीलाई उत्तर बताउँछु
पीडामा पनि मानिस मुस्कुराओस् भनेर
प्रकृतिले नयाँ सृष्टि गरेको हो
अब कमल बन्छु
अब गुलाफ बन्छु
म सेतो बादल मलाई नछेके हुन्छ महोदय
म डाँडापारि उडेर जान्छु।
धनगढी, कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।