अहो प्रकृति ! समयको प्रवृत्तिले
एक आधा समय हामी गोठालेहरूलाई पनि सुम्पेको छ
मेलापात, खेती र गोठालो लाग्दा घुसार्ने
उही बाटाको चप्पल
खेताले अनि गोठाले जीवनको
एक्लो साधन थियो, मानिस त्यही लगाई हिँड्थ्यो
कान्ला, कन्तारा, उकाली, ओराली अनि देश देशावर

समयको चक्रमा किम्बु, काफल, चुत्रो र ऐसलु पाक्दा
उनै चप्पलमाथि उफ्रिन्थ्यौँ, बजारिन्थ्यौँ
मध्याह्नको तातो गर्मीमा चप्पलको तुनो छिन्दा
उकाली चढ्दै गरेका खुट्टाका पैतलाहरू
भेडा, च्याङ्ग्रा र बाख्रा धपाउँदै
हातमा चुँडिएका उही चप्पल समात्दै उकालो हिँड्दा
घामले रापिएर तातो भएका ढुङ्गाहरूमा डामिन्थे

ए प्रकृति ! वनजंगलमा मेरा कौमार्य खुट्टाका डोबहरू
त्यतिबेला परे होलान्
जुन समय मेरा नयनचक्षुले वनजंगललाई फगत कीरा र
लामकीराहरू गृहस्थल सम्झन्थ्यो
जब मेरो कमजोर चक्षुले विशाल झाडी, रुख, नदी र किटपतङ्ग देख्यो
मलाई एकाएक सौन्दर्य र चन्चलतामा रुझ्याउँथ्यो

आज नि ए सृष्टि माता ! मेरा उही चप्पल चुँडिदा या नभेटिँदा
एक जिन्दगी नै विलिन भएको आभास हुन्छ
मेरो हृदयमा एकतरहको आँधी उठ्छ
चप्पल पड्काउँदै हिँड्ने दिनहरूको यादमा
चरा चुरुङ्गीहरूको चिरबिर र खोलाको कलकल आवाजको
स्मरणमा मुटु जल्छ ।