प्रतिपल आशी
धरती प्यासी
नयन नभमा
वधु प्रत्यासी
मौन बन्दना
गुप्त क्रन्दना
पावन प्रीतकी अभिलाषी
प्रीतम जलनीधिकी दासी।
~~
दूर गगनमा
मस्त मगनमा
जल जुनूनमा
आफ्नै धुनमा
सागरदेखि
जलकण बोकी
पल पल भर्दै
तल तल सर्दै।
~~
कमिला लस्कर
फुलका तस्कर
झैं लाग्ने, सबलाई अक्सर
कृषक-वाला फुरफुर गर्छे
साउनको निम्ति पल-पल मर्छे
आँखामा जस्को
सपना छ कस्को
धराका, गरा गरामा
जीवन फुल्छ हराभरामा
उसको त यौवन ढल्छ
नव सृजनाको जराजरामा।
~~
वर्षभरिको चीर प्रतीक्षा
अब्यक्त, अतृप्त, अनुपम इच्छा
धुस्री फुस्री काली हो कि
प्यास मिलनको किन्तु बोकी
तप्त वदनमा
सकल सदनमा
निर्झर झर्झर
अश्रु धर्धर
किन्तु हैन,नयन-शुरा
हर्षको अश्रु-प्रीत कुरा।
~~
परम प्रतापी
विश्व विजेता
जस्तै मानौं ओढी घटा
बादल गर्जी, बिजुली चम्की
सुहागरातको बुन्छ कथा।
~~
पुतली फुरफुर
भवँरा भूँ-भूँ
महरस बोक्ने को हो चिनुँ
हवा बहन्छ मन्द मन्द
मुसुक्क हुन्छे धरा निकन्द।
~~
कैले चाँदी झैं टल्कन्छ
फ़ेरि कालो मोती झल्कन्छ
रंग बदल्दै,रूप त्यो फेर्दै
मानौं प्रियतमासँग सल्कन्छ।
~~
धड्कन धर्तीको बढ्दो छ
रूपमा लाली अति चढ्दो छ
बादलुको घुम्टो ओढी
जलबिन्दुको टीका जोडी
लाजले लाल, भई बेहाल
व्यग्र प्रतीक्षाको आयो काल।
~~
दुनियाँ तर्साउँछ गर्जी-गर्जी
प्यारी अँगाल्ने उसको मर्जी
थोपा-थोपा भै तप्प-तप्प
समय रोकिन्छ मानौं टक्क।
बुँद-बुँदमा बहकिएर
जल स्पर्शमा महकिएर
विशाल धरा यो कणमा ढल्छे
सगर-सागरको बुँदमा घुल्छे
बज्दछ चुरा,टीका टल्कन्छ
यौवनको तब आगो सल्कन्छ
जलाई सारा तनको ज्वाला
भोर धरामा फूल फक्रन्छ।
~~
समय सुनामी ढलिरहेछ
प्रीतको रीत यो चलिरहेछ।
धनुषाधाम नगरपालिका-४, सर्सा, धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।