डा. वीरेन्द्र केसी

सबै भाइ अट्ने बाबाको आँगनमा अट्न नसक्ने
म जस्तै मेरी छोरी
जब जन्मिइन्
मैले नारी हुनुकै कारण सहनु पर्ने
हर हेय र हीनता सम्झेँ

मेरो भर्खरको प्रशव पीडा सम्झेँ
हर महिना बेहोर्नु पर्ने रजश्वला सम्झेँ
असुरक्षित ती सहर, समाज र संस्कार सम्झेँ
असन्तुलित ती विधि, विधान र संविधान सम्झेँ
पुरुष भन्दा तुलनात्मक रुपले कमजोर मेरा शरीरका अंग सम्झेँ
एक दिन माइती घर छोड्नै पर्ने रीति र तिथि सम्झेँ

आफ्नै बाबाको घर आफ्नो नहुने
आफ्नै आमाको थर आफ्नो नहुने
यो छोरी जातिको नियति
जन्मेको घरमा मर्न नहुने

जन्म दिने आमालाई रुवाउँदै
परको पुरुषको वर भएर
अञ्जान सहरको
अनिश्चित गोरेटोमा
अनिच्छुक पाइला टेक्नु पर्ने

त्यसैले
आफ्नो पुरुष बाबासँग मात्र अनुहार मिल्ने
म जस्तै मेरी छोरी
जब जन्मिइन्
मैले उनीतिर एक टकले हेरिरहेँ
नारी हुनुकै कारण उनले गुज्रनु पर्ने
हर कठिनाई, एक एक सम्झिरहेँ
अनि आफैँलाई सम्हाल्न नसकी अनन्त रोइरहेँ ।

डा. वीरेन्द्र केसी
दाङ
हालः न्युजिल्यान्ड