छन्दः मन्दाक्रान्ता

वीरेन्द्र नेपाल

भाषाका हौ जनक रविझैँ प्रेम सद्भाव छर्ने
नेपालीका सब ढुकढुकीभित्र जागेर बस्ने
लेख्यौ राम्रा अमर कविता दिव्य त्यो भाव भर्दै
झुल्क्यौ सारा अवनि भरमा ज्योति माधुर्य छर्दै ।।१।।

भाषा तिम्रो सरल गतिले बग्दथ्यो छन्दभित्र
जोड्यौ हाम्रा सरल मनका गाउँका कर्मचित्र
चम्क्यो रामायण रजतझैँ गाउँका कन्दरामा
पाएका छौ प्रथम कविको दिव्य संज्ञा धरामा ।।२।।

पढ्दा तिम्रा अति सरसिला काव्यको रागभित्र
डब्छन् सारा रसिक जन ती भावना रङ्गभित्र
नौलो शैली नव मगजले कौर्दथ्यौ दिव्य भाव
पूजा गर्छौँ अमर कविका रूपमा देशभित्र ।।३।।

घाँसीका ती सुवचन बुझी लेखनी कुद्न थाल्यो
भाषालाई नव तन दिई पोखिने आँट आयो
लेख्यौ आफ्नै अति सिप कला मूल संस्कार भर्दै
बाँच्नू धेरै रविकिरर्झैँ राष्ट्रमा ज्योति छर्दै ।।४।।

होउन् तिम्रा कृति पनि यहाँ विश्वका दिव्य काव्य
गर्दै पूजा घरघर सबै घन्कियोस् आज नित्य
श्रद्धाले यो मधुर कविता गुन्गुनाएँ सदाझैँ
तिम्रो कीर्ति युगयुग भरी फैलियोस् वासनाझैँ ।।५।।