पृथ्वीलाई दाहिने हातले अँठ्याएर
देब्रे गोजीमा राखी
आफ्नो जमीनको कित्ता
मंगल ग्रहमा खोजी हिँड्ने
मान्छे जातले घाँटीमा
रातो हरियो वादको टाई झुन्ड्याई
बाहिर हरियो भए पनि
भित्रभित्रै निक्खुर रातो
खर्बुजाजस्तो मान्छे
रङका कुराहरू गर्दै
झण्डाको विचारहरू पोख्दै
बाध्यता फिँजाएर बसेका
पसिना बेच्न बसेका
गरिबहरूको हाट बजारमा
सपनाको व्यापार गरी
बेचिरहेछ पृथ्वी
पोलिथिनको झोला झोलामा हाली

सगरमाथाहरूको छातीभित्र
मुटु होइन पत्थरहरू छन्
त्यसको चेपबाट निस्केको पसिनाले
माओ त्से तुङको तिर्खा मेट्न नसकेरै होला
प्रचण्ड घामहरूको जन्म भएको
तर घामहरू पनि कति लोभी भने नि
सौर्य परिवार उसकै वरपर घुमोस् भन्छ
ऊ शक्तिको केन्द्र नै बनिरहूँ भन्छ
तर उसको मस्तिष्कमा रहेको क्रान्ति
विस्तारै विस्तारै क्षीण हुँदै जाँदैछ
फगत रङ फेर्न बानी परेको घाम
रेड जाइन्ट व्हाइट ड्वार्फ हुँदै
ब्ल्याक होलमा परिणत हुने नै हो
यति हेक्का नभएको घाम
आफू केन्द्रमा रहन
बेचिरहेछ क्रान्तिका टाउकाहरू
परिवर्तनका सपनाहरू
एउटी पत्नीको सिन्दुर र
बेचिरहेछ छोराको सिङ्गै पृथ्वी
पोलिथिनको झोला झोलामा हाली।।

चन्द्रमाहरू पनि सुरक्षित छैनन् यहाँ
निष्प्राण छ चन्द्रमा
न वायु छ
न पानी छ
तर बाहिर फुस्रो छाला ओढेर
भित्र रातो रगत बोक्ने मान्छे
जीवन्त पृथ्वीको हत्या गरी
चन्द्रमातिर जीवन खोज्दै हिँड्छ
चन्द्रमालाई पनि कित्ता कित्ता बनाई बेच्ने मान्छे
लेनिनहरू जन्माएर क्रान्तिको व्यापार गर्छ
लेनिनहरूलाई कमिजको गोजीमा राखी
मार्क्सहरूलाई पाठ्यक्रमतिर छरी
विद्यालय बन्द गराई
विद्यालयको भित्ताभरि
जिन्दावाद मुर्दावादहरू रङ्ग्याइदिन्छ अनि
न्युटन र आइन्स्टाइनहरू टाउकोमा रित्तो डोको
र हातमा सिकल बोकी घाँस काट्न जान्छन्
मेण्डलिभहरू धरतीको छातीमा बाघचाल खेल्छन्
विद्यालय समयमा
अनि रङका व्यापारीहरू भने
कहिले रातोमा हरियो मिसाई
कहिले हरियोमा रातो मिसाई
व्यापार गरिरहेछन्
निधारहरू बेच्न बसेका निर्धाहरूको
पृथ्वी बेचिरहेछ्न्
पोलिथिनको झोला झोलामा हाली।

०००   ०००
पशुपतिनगर
इलाम