
माया गर्नेहरू धेरै छन् फूलका
जवानी फुकाएर अलिकति
हरेक गोधुली साँझमा
पार्कहरूमा हल्लिँदै
पोखिएर रातो घामसँगै
थुप्रैसँग डेटिङ जान सक्छन् –
फूलहरू
चराहरूको चिरबिरमा मख्ख पर्दै
सिरसिरे बतासको सुसेली संगीतमा
टाउको हल्लाउँछन्-
फूलहरू
मनमोहक ती फूलहरू पनि
क्षणिक हुन्छन्
झर्न सक्छन् ओइलिएर
त्यसैले त ती कामातुर छन्
मौसमले काउकुती लगाउँदा
तिमीलाई हेरेर पनि अर्कैसँग
जिस्किन सक्छन् –
फूलहरू
तिम्रो आँखा छलेर
भमराहरूसँग
खुलेआम
चुम्बन गर्न सक्छन् –
फूलहरू
फूलहरू सबैका लागि
उसैगरी मुस्कुराउँछन्
कुनै प्रेमिकाका लागि
प्रेम दिवसको दिनमा
प्रेमीले दिने
रातो गुलाफको अर्थसँग
साटिन सक्छन्-
फूलहरू
इमानदार छैनन् –
फूलहरू
प्राय: रातहरूमा
तिम्रो सम्पर्कबाट बाहिर
अँध्यारोको च्यादर ओढेर
जूनसँग जवानी साट्न
व्यस्त हुन्छन् –
फूलहरू
अनिँदो रातसँगै
झिसमिसेमै उठेर
नुहाउँदै
शीतका थोपाहरूले
आफूलाई ताजा
बनाउँछन् –
फूलहरू
चित्त नबुझेर
त्यतिले
स्थिर नबसेर
सधैँ
इतरिँदै हावासँग
जवानी ढलिसकेपछि पनि
पोइल जानसक्छन्-
फूलहरू ।
००० ०००
बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

