अनन्त आकाशको नीलो पृष्ठभूमिमा
चाँदीका घेरायुक्त बादलले बनाएका
अनेक आकृतिहरु
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो बादलमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म त्यो आकाशमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
सेतो हिउँको खोल ओढेर
आकाश छुँला झैं अग्लिएर
ठिङ्ग उभिएको हिमाल
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो हिउँमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म त्यो हिमालमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
हिउँ पग्लिएर
कलकल बग्दै गरेको
कन्चन नदीको
वल्लो किनारमा बसेर
भावना र नदी सँगसँगै बगेको
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो पल्लो किनारमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म त्यो नदी प्रवाहमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
क्षितिज भन्दा पर
अनिश्चित गन्तव्यको
अविरल यात्रामा हिंडी रहँदा
मेरो बाटो अवरोध गर्ने
अजंगको पहाडलाई
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो पहाडमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म त्यो क्षितिजमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
मन्द हावाको कोमल स्पर्शले
तिम्रो स्पर्शको आभाष गराउँदा
जब मेरो हृदयको ढुकढुकी बढ्छ
तब, मेरा आँखाहरुमा
तिम्रो तस्विर खोज्दै
ऐना अगाडि उभिएर
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो ऐनामा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म आफ्नो हृदयमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
जुनेली रातमा
कतै एकान्तमा
तिम्रो यादमा छटपटाई रहँदा
मलाई सान्त्वना दिने जुनलाई
एकटकले हेरिरहँदा
तिमीलाई सोध्न मन लाग्यो
के म त्यो जुनमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
के म त्यो जुनको प्रकाशमा
तिम्रो प्रतिबिम्ब देख्न सक्छु?
~~~
अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।