हाङ्गाबिङ्गा र पात साटिएजस्तो

आकार प्रकार नमिलेजस्तो

स्वाभाविक छ पुराना पात झर्नु

सर्लक्क खसे नयाँ पातहरू पनि

छ्याङ्ङ देखिन्छ नाङ्गो फेद

टन्टलापुर घाम छेक्न नसक्ने

शय्या बनेको सुकेका पात खप्टिएर

हरिया पात झरे पहेँला पातसँगै

पालुवार विस्तारै निर्यात हुँदै

अब त ऊ विस्तारै

कोपिला, फूल, फलविहीन भएको छ

निस्सार ठिङ्ग उभिएको छ

पतझड भैसकेको छ

हेमन्त आउनुअगावै

अक्सिजनविहीन छ

अन्तरिक्षको अङ्कविज्ञान जस्तै

विगत कोट्याएर गणना गर्दै छ

चराचुरुङ्गी एकछिन ओत लाग्छन्‌

उत्तानो देखेर भुर्र उड्छन्‌

आकलझुक्कल आएर विश्राम लिन्छन्‌

हिस्स पर्दै खिस्सिएको छ

कोरोना महामारीले आइसोलेसनमा बसाए जस्तै

सम्पर्कहीन कथित रुख भएको छ

आश्रयविहीन,काखविहीन सर्वस्व गुमाउँदै

वसन्तोत्सवले फिट्क्क छुदैन

सौदाबाजीविहीन भएको छ

च्याँखे थाप्दाथाप्दै निस्सासिएको छ

प्रतिस्पर्धा गर्दागर्दै नासिएको छ

अनन्त-असन्तुलित सत्ताच्युत मटियामेट छ

अजङ्गको भैकन्‌ निर्धो छ

विशाल छाँयावान छाँयाविहीन छ

अर्थहीन बुढ्यौलीको खानी छ

जमिनमुनि जरा लुकाएर उभिएको छ

पराजय आत्मसात गर्दै

कर्मछाडा भएको छ

अशोभनीय भूतपूर्व भएको छ

दाह्राविहीन बाघझैँ छ

सुक्खा नग्न लाज बचाउन धौ धौ छ

विशाल वृक्ष असमयमै ओतविहीन छ

आँगन थकित गलित बटुवाले टेक्दैनन्‌

बोक्रा धुजा धुजा भैकन

फोहोर खजाना भएको छ

बैँसमा ऊ मोटो घाटो हृष्टपुष्ट थियो रे

रे कुरा अब क्यार्नु खै !

जिङ्ग्रिङ्ग ठडिएर उत्तानो पर्दै

प्रेमिकालाई आलिङ्गन गर्न आतुर कुरेझैँ

जमानामा ऊ गगनस्पर्शिता थियो

अहिले अन्तिम सत्यको

अनवरत प्रतिक्षारत छ

गर्ल्याम्य ढलेर खन्ज्याङखुन्जुङ हुन्‌ ।

 

महालक्ष्मी- ०१, ललितपुर