अचेल याद आइरहन्छ
त्यो खोलाको
जहाँ
छाताको करङले बनिएको तीरले
गँड्यौला रोप्थेँ

अचेल
सुन्न आतुरिन्छन् मेरा दुवै कान
क्यामुनाको चिप्लो पातहरूको कानेखुसी !
सड़क छेउमा ठिङ्ग उभिएका
उत्तीसका रुखहरूमा अड़िसिएर बजाएका
झ्याउँकीरीहरूको सिम्फोनी !

अचेल याद आइरहन्छ
त्यो ठूलो चप्लेटी ढुङ्गा पनि
जहाँ धुप्पीको बाकलको भारी बिसाएको थिएँ
कुनै एउटा पुरानो घमाइलो दिन

अचेल याद आइरहन्छ
त्यो ऐँसेलु घारी पनि
जहाँ हर्लिक्सको फुट्ने बोतलभरि खाँदेको थिएँ
मेरी आमाले मेरै लागि बुनेकी
पहेँलो स्वेटरजस्तै
ऐँसेलुहरू

अहो! माथिबाट खसिरहेको दुधे पानीको झरना त्यो !
भक्कु याद आइरन्छ अचेल
उसले मेरो अनुहारभरि छर्केकी हो नि
त्यही झरनाको चिसो पानी
त्यो झरनाकै मुन्तिर
प्रतिध्वनित हुने एकान्त गुफामा
ओत लागेर धेरैबेर ऊ र म बसेका थियौँ
त्यतिबेलाको
हामी माझको त्यो न्यानोपन!
प्रेमिल सुमसुम्याई !
मायालु काउकुती !
अश्लीलताविहीन
कामुकताविहीन
अथाह अगाध मायामा चुर्लुम्म डुबेर
चकमन्न मनमा हाहाकार मच्चिएको थियो
त्यो मिठो निजत्वले हाम्रो माया
एक्कासि खुसीको पखेटा पलाएर
माथि माथि नीलो आकाशमा उड़ेको थियो
सेतो बादलजस्तै

अचेल याद आइरहन्छ
त्यो गुफा पनि

अचेल
बेपत्ता छन्
त्यो खोला !
क्यामुनाको पात !
झ्याउँकीरीको सिम्फोनी !
त्यो चप्लेटी ढुङ्गा !
त्यो ऐँसेलु घारी !
त्यो झरना !
त्यो गुफा !

अचेल त
ऊ र म पनि
एउटै कोठाभित्रको एउटै पलङमा पनि
अलग अलग हुन्छौँ
ऊ र म पनि
कहिलेकाहीँ एकार्कादेखि झिँजो पनि मान्छौँ
मोबाइल फोनको मोहपाशमा परेर
कसरी सम्मोहित हुन सकेका नि हामी
पैसाभन्दा महँगो समय खर्चेर !

हाम्रो निजत्व धरि चोर्ने
बाठो न बाठो टेक्नोलोजीले
हाम्रो कसम !
हाम्रो माया !
हाम्रो न्यानोपन !
त्यो कुतकुती लगाइ !
त्यो प्रेममय लुटपुटाइ !
मेरो अनुहार छोपिदिने
उसको केशराशिको फिँजाइ !
सबै सबै सबै नै
यादहरूमा मात्र रमाउने बनाइदिएछन्
अहो!
हतारे समयले
समयमा समय नै दिन नसक्ने पारिदिएछन्

ऐ ! उन्नत जातको टेक्नोलोजी
जिन्दगी
मलाईजस्तै
तँलाई पनि दुख्ने भए त !
डट.. डट.. डट..डट..

*******

खरसाङ, भारत