स्वअस्वित्वको लालसामा आतुर
सुन्ने कान र बुझ्ने मस्तिष्क नभएको
एउटा लाटकोसेरे समयका
आधुनिक आँखाहरू
अचेल
मायोपिया र हाइपरमेट्रोपियाले ग्रस्त छन्
त्यसैले ऊ
अरूको विवशतालाई त्यत्तिकै उपेक्षाको सडक किनारतिर मिल्काई दिएर
युधिष्ठिरको मुखौटो लगाएर
आफू पूजिने
र
उसको कुरो नसुन्नेलाई
सत्य र न्यायको नाटकीय बजारीकरणको प्रभावमा
कुल्चने नीति निर्माण गरेको गरेकै छ
उसमा भएको बुद्धिको रक्तचाप पनि
अनियन्त्रित रूपमा बढ्दै गएको छ
त्यसैले
यतिबेला ऊ मौकावादी बनेको छ
मौकामा चौका हान्दै
वर्तमान समयको मुटुमा केवल आफ्नो समयलाई
दर्ता गराउन
भोको पेटले लगानी गर्नेहरूका
कल्पना र सपनालाई खल्तीमा बोकेर
आश्वासनका झुटा शब्दहरूले
भोलिको सुन्दर बिहानीको आशा देखाएर
भोकभोकै सुताएको छ
कुपोषणले जेलिएका अनुहारका मानचित्रमा
पहिरो गएको
भयावह कथा सुनेर
कहिलेकाहीँ
ऊ
निरस ओठहरूमा स्वाङ टाँसेर
भरोसाको झुटो खोप लगाइदिन्छ
संवेदनाले भरिएको सामाजिक ऐना
चकनाचुर पारेको पारेकै हुन्छ
आजभोलि
रङ्गीन आधुनिक ऐनामा
प्रतिबिम्बित हुन थालेका छन् उल्टा तस्बिरहरू
ठिकै बुझ्नुभयो तपाईंले –
आज म मेरो कवितामा
मजस्तै भुइँमान्छेका
पीडाका अनियन्त्रित आँधी-बेहरी लेख्दै छु
ओजन तहले घेरिएको
एउटा भरपर्दो आकाशको खोजीमा
भौँतारिइरहेको छु
जीवनमा इन्द्रेणी छर्ने सपनाहरू
सम्झौताका दलदलमा भासिँदै गरेको हेर्नुपर्ने
एउटा जीर्ण समय हो
भुइँमान्छेको जिन्दगी
एउटा रिक्त समय हो
भुइँमान्छेको जिन्दगी
हो,
यो नै हो सत्य
परम सत्य
यहाँ
चाउरे पिरती लाउँदै
मान्छेले मान्छेको विरोधमा
मान्छेले मानवताको विरोधमा
विभाजनवादका प्रयोगशालाहरू
तैयार पारिरहेका छन्
गरिरहेका छन् रोगी प्रयोगशालाको निर्माण
अबचाहिँ मानिस पर्यावरणप्रेमीका
साथसाथै
मानिसप्रेमी पनि बनोस् भन्ने अवधारणामा अढेस लागेर भोलिको घाम हेरिरहेछ एउटा आशावादी कवि।
असम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।