
भएको छु अपाङ्ग अहिले
खाडीको प्रखर धूपमा
छैन मसँग आफ्नै
आङ अहिले
गरेको छु दुःख पुकारा
थाहा पाएँ फर्केपछि
स्वदेशमा
बनाएको रहेछ अबल
खाडीको सन्तापले
भएको छु घायल अहिले
तीव्र वेदनाले
अस्पतालको शैय्या माझ
भएको छु लाचारी
गरेको छु दुहाई सदैव
राज्यलाई
न्यायालयलाई
नेता‑कार्यकर्तालाई
रोजगारदातालाई
पाएको छैन कोही
प्रतिवादी गर्नेहरू
मेरो पक्षमा अहिले
छैनन कोही बुझ्झकी
मेरो फिरादलाई
पाएको छैन कोही मनुवा
जसले गर्नेछन्
अभयदान मलाई
भएको थिएँ, दुर्घटित खाडीमा
गुमाऐको रहेछु आँचले
आफ्नै मृगौला अहिले
छैनन् कोही भागिदार
मेरो अपाङ्गताको
भएको छ जल
बत्सनाभ सरी मलाई
लागेको छ व्यग्र प्यास
तर सक्दिनँ घाँटी
भिजाउन मैले
भएको छ जीवनको
एउटै तिर्सना अहिले
एकदिन पाउने छु
कसैको अंग दान
पाउने छु निर्धक्कले
पानी घुट्क्याउन
दिएका थिएँ आडभरोसा
नेताकार्यकर्ताले चुनावअघि
गरेका रहेछन् वाचा
मृगौला प्रत्यारोपणको
तर छैन खर्चिने पैसा
मृगौला डायलाइसिसलाई
भएको रहेछ मृगौला प्रत्यारोपण
मंगल ग्रहको शयरयान सरी
म जस्तै हजारौं साथीहरू
भएका छौ अपांगताले
आखेट अहिले
दिनुपर्ने छ सजाय
ती रोजगारदातालाई
भएका छौ दण्डित अहिले
उचित स्वास्थ्य सुरक्षाको अभावले
खराब काम गर्ने अभ्यासहरूले
उचित कपडाको अप्राप्तिले
गर्नु पर्नेछ खलबल अहिले
गुमाएका छन् आफ्ना अंगहरू
हजारौं श्रमिकले खाडीमा
हुनेछौं हामी आन्दोलनरत
भएसम्म सास अन्तिमसम्म
लड्नेछौं प्राण रहेसम्म
जबसम्म रोजगारदाताले
दिने छैनन् क्षतिपूर्ति
हाम्रो उपचारको
हाम्रो अंग प्रत्यारोपणको
हाम्रो सामान्य जीवनयापनको
हुनु पर्नेछ उत्तरदायी
दिनुपर्ने छ दण्ड
कम्पनीका मालिकहरूलाई
एजेन्टहरूलाई
श्रम यातना गर्नेहरूलाई
छ अधिकार
श्रमिकको परदेशमा
भएका छन् अपाङ्गताले
ग्रसित जिन्दगीभर
भएर लापरवाहीको सिकार
बेहोर्नु पर्नेछ
शारीरिक नोक्सानीको
क्षतिपूर्ति जीवनभर
रहेछ अशक्तता
आजीवन कारावास सरी
भएर नियोक्ताको
घोर लापरवाहीले
गर्नु पर्नेछ सहयोगी हातहरू
राज्यले
समाजले
गराउनु पर्छ सुलभ उपचार
रहेछ प्रत्येक श्रमिकको
मानव अधिकार ।
बर्तुङ्, पाल्पा (हालः युके)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

