भानसिंह धामी

हो जन्मन्छ जीवन
त्यो रगतबाट
फैलिन्छ घरदेखि परसम्म
गाढा हुन्छ र पनि टाढा हुँदै हराउँछ
जीवन जगतबाट
सदाको लागि निस्किन्छ
रगत बाहिर हुँदै
जगतबाहिर

घुमिरहन्छ प्रेम
प्राणहरूको रगतमा
रुपान्तरण हुन्छ रगत
हावा, पानी र माटोमा
मेटिदै र भेटिदै झुल्किरहन्छ
जीवनको बाटोमा
रगतको नाता प्रेमसित टाँसिएर

युद्ध मैदानमा बगेको रगतमा
सूक्ष्म कण कणको सुषुप्त प्रेम
हरेक जीवन मरणमा
साक्षी रहन्छ
सपनाहरूको उचाइमा
र भावनाको गहिराइमा
सदैव सम्झना बनेर
हेरिरहन्छ प्रेम
जीवन सम्झौता हो भनेर

अमर छ त केवल प्रेम
अजर छ यही पवित्र प्रेम
र यो ज्ञात जीवनमा
प्रेमको छ नाता अज्ञात

प्रेमको एक छन् जीवन दाता
एकै छिन् जीवन माता
उही छन् भाग्यविधाता
निराकार भएर पनि साकार छ
यो जीवनको जगतमा
पुण्यनिर्मित प्रेमको नाता

छन् जीवन र जगत अनेक
तर प्रेम मात्र छ एक
जसले उमार्छ केवल बुद्धि विवेक
जहाँबाट शुरु हुन्छ परिवर्तन
त्यहाँ हुर्केको हुन्छ प्रेमको नाता

*****

सिगास -२, बैतडी
हाल: मेलम्ची -४, सिन्धुपाल्चोक