यो सानो शहरको
गल्ली-गल्लीमा लाइन छ
टोल-टोलमा लाइन छ
चोक-चोकमा लाइन छ

यहाँ
सडकभरि बस, ट्याक्सी र मोटरबाइकको लाइन छ
बसपार्कभित्र गाडी र यात्रुहरूको लाइन छ
कार्यालयअगाडि सेवाग्राहीको लाइन छ
अस्पतालअगाडि बिरामीको लाइन छ
यहाँ सबैतिर लाइन छ

मालपोत कार्यालयमा जग्गा किनबेच गर्नेहरूको लाइन छ
अदालत परिसरमा उजुरी गर्ने र पर्नेहरूको लाइन छ
बैंकभित्र चेक, भौचर साट्नेहरूको लाइन छ
चिया पसलबाहिर कुरा काट्नेहरूको लाइन छ

सिनेमा हलमा सिने-दर्शकहरूको लाइन छ
नाटक घरमा नाट्यप्रेमीहरूको लाइन छ
रंगशालाभित्र खेल हेर्नेहरूको लाइन छ
शौचालयबाहिर पिसाब फेर्नेहरूको लाइन छ
पार्टी कार्यालयमा कार्यकर्ताहरूको लाइन छ
पाटी पौवामा माग्न बसेकाहरूको लाइन छ
पेट्रोल पम्पअगाडि गाडीको व्यस्त लाइन छ
पार्किङ स्थलअगाडि उस्तै मस्त लाइन छ

कन्सल्ट्यान्सीहरूमा अङ्ग्रेजी, जापानी, कोरियन सिक्नेहरूको लाइन छ
राहदानी कार्यालयमा पासपोर्ट लिनेहरूको लाइन छ
दूतावासमा अन्तर्वार्ता दिनेहरूको लाइन छ
एअरपोर्टभित्र त झनै अस्तव्यस्त लाइन छ

मन्दिर पसौँ भन्यो, मन्दिरभित्र लाइन छ
बाहिर हिँडौ भन्यो, फुटपाथभरि लाइन छ
गाडी चढौँ भन्यो, त्यहाँ झनै लाइन छ
कतै मेला छिरौँ भन्यो, त्यहाँसमेत लाइन छ

यता पनि लाइन छ
उता पनि लाइन छ
दायाँ पनि लाइन छ
बायाँ पनि लाइन छ
माथि पनि लाइन छ
तल पनि लाइन छ
भित्र पनि लाइन छ
बाहिर पनि लाइन छ
यो लाइनै लाइनको लामो साङ्लोले बेरेरै बरु मर्छु अब भनेर सोच्दै हुनुहोला
एकछिन, पर्खनुस् !
धैर्य गर्नुस्…
यहाँ आर्यघाटमा पनि बाक्लै लाइन छ

शहरको यस्तो कहालीलाग्दो हविगत देखेर
तपाईं विरक्तिन सक्नुहुन्छ
यदि त्यसो हो भने
तपाईं शहर छाड्नुस्
र तुरुन्तै गाउँ जानुस्
त्यहाँ तपाईंले यहाँजस्तो लाइन देख्नुहुने छैन
बरु खुला हावा
खुला आकाश
खुला जमिन
सबै पाउनु हुनेछ
तर फेरि,
तपाईंले आफ्नो जहान, परिवार सम्झिनुहुनेछ
र मन नहुँदा नहुँदै पनि
पेट र परिवार पाल्नको निम्ति
तपाईं शहर फर्कनैपर्ने हुन्छ
तपाईंले लाइन समात्नै पर्ने हुन्छ

यो देशमा तपाईंजस्ता लाखौँ नागरिकहरू
हिमाल, पहाड, पाखाबाट झरिरहेका छन्
तराईमा, मधेश, देहातबाट चढिरहेका छन्
रहर, बाध्यता या दुवै कारणले
कसैको भ्रमण
कसैको भेटघाट
कसैको आकस्मिकता
कसैको आवश्यकता
कसैको गन्तव्य
कसैको ट्रान्जिट
मानिसहरू यो शहरतर्फको लाइन लागिरहेकै थिए
लागिरहेकै छन्

कहिलेकाहीँ लाग्छ
यो शहर कुनै मरेको फटेङ्ग्रा हो
जसको सिनो खान
कमिलाहरू टाढा टाढादेखि
लाइन लागिरहेका छन्
मलाई चिन्ता छ
त्यो दिनको
जुन दिन
यो सिनो सक्किइजानेछ…

त्यस बेला ती कमिलाहरू के गर्नेछन् ?
के खानेछन् ?

त्यसबेला कमिलाहरू
कस्तो लाइन बनाएर उभिने छन् ?

या त उनीहरू
लाइन तोडेर ठूलो भीड बन्नेछन् ??

 

जर्मनी