अक्षर अक्षरहरुको जमातमा दुइटा जात हुन्छ
एउटा स्वर हुन्छ र अर्को व्यञ्जन हुन्छ
न्यून हुँदैमा स्वरहरू चिन्ता गर्दैनन्
बहुलताको व्यञ्जनहरू अहम् छर्दैनन्
तापनि सहयोग नलिइकन स्वरहरूको
व्यञ्जन उच्चरित हुनै सक्तैनन्

अक्षरको भूगोलमा विश्व–मानचित्रमा झैँ
अंशबन्डाका रेखा हुँदैनन्
फुटको अभाव हुन्छ, गुटको अभाव हुन्छ
नियममा प्रतिबद्ध हुन्छन्, सीमाको उल्लङ्घन हुँदैन
स्वर र व्यञ्जनहरूबीच प्रतिशोध हुँदैन
भ्रष्ट हुँदैनन् अक्षरहरू, मान्छेभन्दा पृथक् हुन्छन्
मल्लयुद्ध हुँदैन, लवजमा एउटै मेल हुन्छ
न उन्मादको भेल हुन्छ
न वर्ण–वर्णहरूका बीच जालझेल हुन्छ
बरु कलमको जादूमा भविष्य हाँक्ने खेल हुन्छ

अक्षरहरू इतिहास बाँच्छन्, अक्षरहरू पशु होइनन्
अक्षरहरू वर्तमान बाँच्छन्, अक्षरहरू मानिस होइनन्
अक्षरहरू भविष्य बाँच्छन्, अक्षरहरू देवता होइनन्
जीवनपुञ्ज अक्षरहरूमा सिङ्गो एउटा लोक हुन्छ
गोलीको भोक होइन, भोलिको आलोक हुन्छ
स्वर र व्यञ्जनहरूबीच भावमा आपसी साथ हुन्छ
अक्षर–अक्षरहरुको जमातमा दुइटा जात हुन्छ ।

 

ज्याग्दीखोला
स्याङ्जा