ए साने ! बादलपारि हेर त
सबै ताराहरू भन्दा चम्किला बनेका तेरा ‘बा’लाई
ताराहरूको सयर गराउनु छ भन्थे मलाई
तर आज एक्लै उदाएछन् अनन्तपुरमा

“बाबा ‘कसरी त्याँ पुग्नु भो र मम्मी ?’
मलाई खेलौना लिन जानु भको नि है ?”

होइन भुन्टे
अब हामी नै उहाँसँग जानुपर्छ
यहाँ त मानव मूल्यमै धमिरा लागिसक्यो, छोरा !
तेरो अबोध बालापनमै
तेरो स्वासको मोलमोलाई चलिसक्यो

“कमिलाको धमिरा मम्मी ? खै र ?”

तँ सानै छस् लाटा ! कहिल्यै नबुझी अस्ताउने भइस्
तेरो कोमल शरीरले तिर्नु परेको खरानीको चर्को मूल्य
तेरो अबोध कौतुहलतामा बज्रिएका तुषारापातहरूको रहस्य
तेरो निर्दोष प्राणमाथि गरिएका “शाही” चुटकिलाहरू

अभागी रहेछस् बाबै !
कहिल्यै नबुझी सेलाइने भइस्
बुद्धका शान्तिका मार्गदर्शनहरू
ब्रह्म्मले रचेका लोभलाग्दा सृष्टिका गरिमाहरू
अनि
ब्रह्माण्डका अनेक रोमाञ्चक कथाहरू

तर भाग्यमानी पनि रहेछस् चेप्टे तँ त
कहिल्यै नसिक्ने भइस् अमानवताका घृणित व्यवहारहरू
नबुझेरै बिलाउने भइस् अंहकार, स्वार्थ र लोभका अनुभवहरू
नजानेरै जाने भइस् न्यायहीनता र व्यभिचारका महाकाव्यहरू

“काँ जाने मम्मी ? हदुर पनि जाने ल मसँग ?”

हुन्छ साने ! हुन्छ !
ऊ त्यो अकासको चम्किलो तारालाई देखिस् ?
अब हामी पनि बाबालाई भेट्न जाने
तेरा आफ्नै बाबालाई ।

बाग्लुङ