म बेरोजगार, लाचार र निरुपाय भएको त्यो बेला
देशका ठेकेदारहरू सम्झी‑सम्झी मुर्मुरिन्थेँ
टुँडिखेलमा बडेमाको खाल्डो खनेर
नेताहरूलाई पुरेको सपना देख्थेँ

अहिले समयनदीमा हेलिएर
अनुभवको शान्त छहारीमा आइपुग्दा
मनमनै गम खाँदै सोच्दछु–
बित्थामा यी नेताहरूलाई किन पुर्नु ?
बरू लाइन लगाएर
हत्केलामा गैँती–बेल्चा–झम्पल–कोदालो दिएर
बाँझाहरूमा जीवन–जयन्ती मनाउन पठाउनु पर्ने जीवनभरि
सजाय यस्तो दिन मन लाग्छ आजभोलि

बाटो खन्दैखन्दै स्कूलसम्म पुर्‍याउन
त्यहीँबाट दोबाटो जोडेर अस्पताल बनाउन
समृद्धिको साम्राज्यले देशलाई सिँगार्न
यिनलाई मिहिनेतको पोखरीमा डुबाएर हरघडी
सजाय यस्तो दिन मन लाग्छ आजभोलि

शक्तिका निम्ति षड्यन्त्र रच्ने खेलाडीहरू
आत्मग्लानिले सड्छन् सड्दैनन् थाहा छैन
आफूले फैल्याएको दुर्गन्ध
यिनले सफा गर्छन्–गर्दैनन् थाहा छैन
तर, जीवनले तिनलाई क्षमा गरेको यस घडी
सर्वाङ्ग पखाल्न मन छ यिनको अमृतले
ताकि यिनको दृष्टि फेरियोस्
र यिनले सबैलाई समान देखून्
खूनको रङ् एउटै हो भन्ने महसुस गरून्
शक्ति, उन्माद र अहंको दलदलबाट निस्किएर
निमुखा, निर्बल र निर्धनका निम्ति
समर्पित हुने सुविचार यिनले जपून् सधैँभरि
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।