हिजोसम्म मलाई
ए! केटा भनेर बोलाउँथे

हामी दुई दाजुभाइसरह देखिन्थ्यौँ
यो समयको दौरानसँगै
परिस्थितिको खेलसँगै
जीवनका झमेलाहरूसँगै
मेरा बा पनि बुढा भएछन्

मेरा बालाई
जिम्मेवारीले बाँध्यो
सन्तानको पीरले पिरोल्यो

आफ्नो पसिना बेचेर
आफ्ना रहरहरू मारेर
आफ्ना इच्छा र आकाङ्क्षा भुलेर
हाम्रै निमित्त रातदिन खटिएर
कठै! बा पनि बुढा भएछन्

यो समय परिवर्तित रहेछ
हिजो लक्का जवान देख्थेँ बालाई
आज कपाल फुलेको देख्दा
आज दाह्री फुलेको देख्दा
अनुहारमा चाउरी परेको देख्दा
लाग्छ मेरा बाका दिनहरू पनि
घट्दै घट्दै गइरहेछन्

मेरा बाले गरेका संघर्षको कथा सुन्दा
कुनै पल पाएको हर्षको कथा सुन्दा
केही सुन्दा खुसी हुन्छ मन
केही सुन्दा दुःखी हुन्छ मन
मेरा बाको जीवन कहानी सुनिरहँदा
म सुन्नेलाई त पीडा उत्पन्न हुन्छ भने
बाले कसरी भोगे होलान् ती दिनहरू !

बा सुनाउँछन् जनयुद्धका दिनहरू
आफ्ना बाल्यकालका भोगाइहरू
देशमा गणतन्त्र स्थापित गर्न आफूले
लडेको लडाईं सुनाउँछन्
मैले यी सुनिरहँदा
बाले र आफूले गर्ने भन्दा बढी
संघर्ष गरिसकेछन्

सन्तानलाई पढाउँदा पढाउँदै
जिम्मेवारीको बहन गर्दागर्दै
मेरा बाको उमेर कति छिट्टै
चालिस नाघिसकेछ

शब्दहीन हुन्छु म
मेरो आँट
मेरो हौसला
मेरो जीवनको जन्मदाता
मेरो जिन्दगीका मालिक
मेरा बा कति छिटो बुढा भएछन्!
मेरो समस्याको समाधान
मेरा बा पनि बुढा भएछन् !

 

जुम्ला, नेपाल