मैले रक्सी नखानुस् भनेको
तपाईं भन्नुहुन्थ्यो
पीडा भुलाउनै प-यो
पीडा सबैलाई छ
कसलाई पो छैन पीडा
एउटा उडिरहेको चरालाई पनि छ
उड्नुको पीडा
सुकेको रुखको हाँगामा बसेर
आफ्नो वेदना गाइरहेको हलेसोलाई पीडा छ
आफ्नो पीडा गाउनुको पीडा
कसलाई पो छैन पीडा
पीडा सबैलाई छ

हामी त मान्छे हो पीडा हुन्छ नै
मान्छे हुनुको पीडा
मलाई पनि त पीडा छ
कसैको सन्तान हुनुमा
कसैको प्रेमी हुनुको पीडा
कसैको श्रीमान् हुनुको पीडा
अनि कसैको बाबु हुनुको पीडा

तपाईं त आफ्नो पीडा भुलाउनु भयो
आफैँलाई नै भुल्ने गरी
रक्सीको नशामा
जहाँ रक्सीले औषधी दिएको छ
जीवनलाई नै भुलाउने औषधी
आन्द्रालाई अर्बुदको
मुटुलाई दमको
औषधी ।