ए ! ए प्लस
तँ चर्चित छस्
हेर त
तँ आइस् कि
नाक फुलिन्छ
धाक चुलिन्छ
बधाई दिन्छन् सबै
हेर् त तँलाई
प्रगतिको द्योतक मान्छन्
सुन्दर भविष्यको प्रदर्शक ठान्छन्
तँ जीवनमा छाउँदा
सफलताको बहार आएको ठानिन्छ
अल्छीको हार
परिश्रमको सार
भाग्यको उपहार मानिन्छ

त्यसो त कसैले
तेरो विरोध नि गर्छन्
तँलाई
प्रतिशतको दुस्मन मान्छन्
‘कन्फ्यूज्ड’ भैयो झन् भन्छन्
नम्बरमा जस्तो खासै ओज छैन भन्छन्
पहिलेझैँ पार्टी भोज छैन भन्छन्
तैपनि
संसारमा चलेरै होला
धेरैले मन पारेरै होला
मार्कसिटमा अटेर बसेको छस्
सर्वोकृष्ट ठानिएकै छस्
मानिएकै छस्

अब देख्नु छ
तँ मान्छेको जीवनलाई कसरी परिवर्तन गर्छस्
तेरो आगमनले भोलि यो देशले के पाउँछ
कि पाउने देश छोडेर जान्छ !

आज बधाई दिनेले पाउनेबाट
भोलि के पाउँछ ?

राष्ट्रको गीत गाउँछ
कि विदेशबाट ‘कल’ आउँछ !

ए ! सुन्
ब्रेन ड्रेनको समस्या छ यहाँ
भोलि गएर
तँलाई अँगाल्ने कतै नभागून्
देशभित्रै बसून्
ज्ञान, बुद्धि, विवेक
यहीँ लगाऊन्
सिर्जनाका फूल फुलाऊन्
समृद्धिको मूल फुटाऊन्
ए प्लस होल्डरबाट
देशले केही पाओस्
सुन्दर बनोस् देश
आजको ए प्लसले
भोलि देशमा
सबैतिर ‘एजिभ्मेन्ट’ प्लस गर्न सकोस्
ल्याउनेमा सधैँ देशले गर्व गर्न सकोस्
सधैँ ऊ ‘ए वान’ नागरिक बन्न सकोस्
ग्रेडको गरिमा राख्न सकोस्
राख्न सकोस् ।