आकाशबाट झर्दै गरेको एउटा तारा
आधाबाटो पुगेपछि
धरतीमा निकैबेर नियालेर हेर्यो
अनि निरास हुँदै
आकाशै तिरै फर्कियो
थाह छ तिमीलाई ?
जब तिमी मेरो काखमा निदाइरहेका थियौ
उसले सोच्यो
एउटा काखमा दुइटा तारा अटाउन सक्दैन
हिमालबाट बग्दै झरेको यौटा नदी
बीच बाटो पुगेपछि
टक्क अडिएर निकैबेर टोलायो
अनि खिन्न मन लिएर
हिमालमै बिलायो
थाह छ तिमीलाई ?
जब म तिम्रो मायाको सागरमा डुबिरहेको थिएँ
उसले सोच्यो
पवित्र सागरलाई बिटुलो बनाउन हुन्न
सैलुङको डाँडामा फुल्दै गरेको यौटा गुराँस
क्षितिजसम्मै आकाश खुलेपछि
तल बेंसीतिर एक नजर हेरेर
फुल्दा फुल्दै फुल्नै छाड्यो
थाह छ तिमीलाई ?
जब तिमी मासिक स्नान सकेर
चुल्ठो फिँजाई घाम तापिरहेका थियौ
उसले सोच्यो
खास गुराँस फुलेपछि मेरो काम ?
पूर्णिमाको रातमा उदाउँदै गरेको जून
तिम्रो आँगन भन्दा ठीक माथि आएपछि
अचानक लाजले शीर निहुराएर
बादलको घुम्टो भित्र लुक्न पुग्यो
थाहा छ तिमीलाई ?
जब तिमी बरण्डामा बसेर सुसेली हाल्दै थियौ
उसले सोच्यो
धरतीमै जून छ भने आकाशमा किन उदाउनु
हो
तिमीलाई धेरै कुरा थाहा छैन
सबभन्दा ठूलो कुरा
तिम्रो मनमा म छु भन्ने तिमीलाई थाहा छैन ।
चिचिला – २ संखुवासभा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।