प्यारी आमा नरुनु के बिन्ती छ है अब ।
फिरफिरेले उड़ाई लग्यो जीवन मेरो सब ॥
तिम्ले, सिन्दुर पोते चुरा लाको २६ वर्षमा ।
नौ नौ महिना कोखमा बसी जन्मेँ हर्षमा ॥
हर्षसाथ जन्मेको, नाम हर्षित भन्थे साथी
दैवले नि कस्तो वज्रपात पार्यो मै माथि ॥
घरमा एक्लै छाडिनौ जाँदा मेलापात वनमा ।
कति चोट पार्यो आमा त्यो कलिलो मनमा ॥
च्याप्प समाई घोक्राएर लग्यो कोप्चेरामा ।
कति रोएँ चिच्चाएँ म पर्दा अप्ठ्यारोमा ॥
मेरा सपना तिम्रा रहर डुबे रगत भलमा ।
मर्न पाइन एकै चोटि रेट्यो पल पलमा ॥
खोज्दा खेरी भाग्न मैले बग्यो रगत खोला ।
मेरो चिनो किताब कापी त्यही स्कुलको झोला ॥
सकिन तिर्न दुधको भारा मेरै भाग्य खोटो ।
नरोऊ घुक्क घुक्क आमा हेर्दै मेरो फोटो ॥
न्याय माग्दा माग्नु आमा खुनको बदला खून ।
चिरा चिरा पारी त्यसलाई लाउनु चुक नुन ॥
कुनै दोष कुनै गल्ती गरे छैनौँ है हाम्ले ।
न्याय माग्न हरेक पल साथ दिनु गाम्ले ॥
मैले सुसु गरेको त्यो काँध सुकेकै थिएन ।
बाबा तिम्रो सहारा बन्न पापीले दिएन ॥
अर्को जन्म पाएँ भने त्यही कोखमा आउँला ।
हजुरहरूकै त्यो काखमा फेरि फेरि रमाउँला ॥
बिन्ती ! सरकार मेरो चीत्कार सुन्छस् भने एउटा ।
हत्यारालाई बली चढाई, खुसी पार्दे देउता ॥
हाल: कीर्तिपुर, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।