आमाको त्यो वेदना र पीडा एउटै थियो
फरक यत्ति मात्र भयो म खुला आकाश हेर्दै जन्मिएँ तिमी बन्द कोठाका ती स्वर्ण भित्ताहरू
तिम्रो र मेरो रुवाईमा पनि केही भिन्नता थिएन साथी
तिमी वस्तुको मागमा रुन्थ्यौ म अभावमा
हुन त हामी दुवै जन्मियौ मानव बनी
फरक यत्ति हो म गरीब हुन पुगे तिमी धनी
आगोमा उमाल्दै गरेको दुधजस्तै
ऊ स्वतन्त्र चाहन्छ तर बाध्यता आमाले हतारिँदै गएर आगो निभाउनु भयो
म निस्तब्ध छु किनकि दुधसँगै उम्लिएका मेरा सपनाहरू पनि सेलाएका छन् आज
तिम्रो र मेरो सपनामा पनि त अन्तर छैन
फरक यति मात्र हो, तिमी स्वर्ण शैय्यामा सुतेर सपना देख्छौ
म डुङ्गाको सिरानी च्यापेर
तर म स्वप्न स्वतन्त्र छु, मेरा विपनीका अपूर्ण सपनाहरूलाई पूर्णतातिर लैजानेछु
बिहानीका शितका थोपाहरूले मेरो स्वप्न संसार बिगारिदियो
अँगेनामा दुध उम्लदै रहेछ
उम्लदै गरेको दुध एकैछिनपछि पोखिन थाल्यो
मैले बुझेँ, आमाले आगो निभाउनुको कारण आज
हुन त तिम्रो र मेरा आँसुहरूमा पनि कुनै भिन्नता छैन
म दुःख झेल्न रुन्छु, तिमी खुशी छर्न
हो, हामी जन्मियौँ मानव बनी
फरक यत्ति भयो म गरिब बन्न पुगेँ, तिमी धनी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।