नीलो आकाश
नीलो समुद्र
आपसमा टाँसिएर
युगौंदेखि गाँसिरहेछ
एउटा अटुट प्रेम बन्धन

नजाने कति हजार
सिल्भर जुब्ली पार गर्दै
यसले निखारेर उभ्याएको छ
प्रेमको महासौन्दर्य
यसैमा मोहित भएर टेकिरहेछु
सिंगापुरको यो भूस्वर्ग
मेरिना बे स्यान्डस्
समुद्री किनार

बिना विश्राम
मेरा पाइला भेट्टाउन खोजिरहेछ
स्वप्नमय तिम्रो
प्रेमदृश्यको अन्तिम किनारा
बिना पर्खाइ
मेरो मन जान्न आतुर भइरहेछ
तिम्रो निश्चल प्रेमको
वास्तविक गहिराई

जति नाप्न खोज्छु
म तिम्रो प्रेम
झन् उति फिंजिएको पाउँछु
आफ्नो उचाईले आकाश छेड्न खोज्ने
त्यो स्काई पार्कभन्दा धेरै अग्लो
र मेरिना बे गार्डनका फूलहरूले
उन्न सक्ने मालाभन्दा धेरै लामो

म पोस्ट गरिरहेछु
सामाजिक सञ्जालका भित्ताहरूमा
अतृप्त आँखाहरूका लागि
जादुमय यी प्रेमिल दृश्य चित्रहरू
एउटा अनुपम प्रेमको समर्थनमा
हजारौं लाइक र कमेन्ट जुटाउन

मलाई विश्वास छ
यी दृश्यले
-पखालिने छ उनीहरूको मन
-उचालिने छ उनीहरूको जाँगर
र उभ्याउने छ
एउटा संवेदनाको शीतल समुद्र
एउटा आकांक्षाको उच्च आकाश

मलाई लाग्छ
हाम्रा आँखालाई पनि
एउटा सुन्दर सपना सजाउन
एउटा सुन्दरतम् दृश्यको
उत्प्रेरणा चाहिन्छ

र म दाबीको साथ भन्न सक्छु
यो समुद्री किनारमा
एकछिन उभिनु भयो भने
तपाईंले भेट्नु हुनेछ
यसैको खोजीमा
यो भूगोलको कुनाकुनाबाट आएका
हजारौं पाहुना आँखाहरू
जो आनन्दको घेराभित्र
र खुसीको संसारभित्र
आफूलाई हराउन चाहन्छन् ।