एक मुट्ठी सासको आशमा
चलिरहेछन् कति जिन्दगी
दुई छाक अनाजको आशमा
पानी छिर्ने नै भए पनि
छानो भएको छाप्रोको आशमा
चालिरहेछन् कति जिन्दगी
किनकि ती जिन्दगीलाई थाहा छ
मर्नुभन्दा कयौं गुना सजिलो छ जिउनु
किनकि ती जिन्दगीलाई थाहा छ
विष पिउनुभन्दा
कयौं गुना सजिलो छ आँसु पिउनु
उनीहरूले बुझेका छन्
मर्नुको पीडा, बाँच्नुको औचित्य
त्यसैले त उनीहरू बाँचिरहेछन्
बाँच्न चाहेर हैन, मर्न नसकेर
मर्ने रहर पनि हैन
तर बाँच्ने आधारै छैन
ढल्ने मनसाय पनि हैन
तर टिक्ने आधारै छैन
र पनि टिकिरहेछ
बिकिरहेछ, कौडीको भाउमा
मान्छेको जीवन
खुसीको दाउमा
खुसी! बडो अचम्मको चीज
पाए जीवनको गज्जब उपलब्धि
नपाए एउटा आशाको त्यान्द्रो
जसमा अल्झिएर नै मान्छेले जीवन जिउँछ
जीवन जिउँछ हैन
मृत्युलाई पर्खेर बस्छ, बाचुञ्जेल।
अनि जब मृत्यु आउँछ
तब ऊ डराउँछ
ऊ मर्न चाँहदैन
किन?
किनभने उसलाई थाहा छ
बाँच्नुको औचित्य
अनि मर्नुको मूल्य
जुन मूल्य चुकाउने औकात छैन उसको
उसलाई थाहा छ
जिउनलाई दुई मुट्ठी हावाबाहेक केही चाहिन्न
मरेपछि त कात्रो चाहियो
कात्रो किन्ने औकात छैन उसको
बाँचुञ्जेल पीर, चिन्ता, जिम्मेवारी,
जे-जे को जत्रो-जत्रो भारी बोके पनि
मरेपछि त लाश बोक्न मलामी चाहियो
मलामी किन्ने औकात छैन उसको
बाँचुञ्जेल सम्झिएरै आँखा सेकाए पनि
मरेपछि त किरिया गर्न छोरा चाहिन्छन्
जो परदेशिएका छन्
पैसा तिरेर पठाएका छोराहरू
पैसा तिरेरै फर्काउने औकात छैन उसको
अहँ उसको मर्ने औकात नै छैन
त्यसैले त ऊ आजसम्म बाँचिरहेछ।
ऊ मात्र हैन
ऊजस्ता धेरै जिन्दगी छन्
जो मर्न नसकेर बाँचिरहेछन्
उनीहरूले देखेका छन्
मरिसकेपछि पनि
जल्नलाई पालो कुरिरहेका लाशहरू
कुहिएका अलपत्र ह्रासहरू
उनीहरूले देखेका छन्
भड्किएको शरीर
भड्किएकै आत्मा पनि
जस्को आवाज
कहालिलाग्दो, दर्दनाक अनि
भन्दै छ,
मलाई शान्ति दे!
अलपत्र नपार!
कमसेकम,
मरिसकेपछि त मलाई खुसी हुन दे!
अलपत्रमै बाँचेकाहरू
मरेपछि पनि अलपत्र नै?
पीडाको विषपान गर्दागर्दै मरेकाहरूले
मरेपछि पनि खुसीको अमृत चाख्न नपाउनु?
असमानता! मरेपछि पनि?
दैवको लोकमा पनि यस्तो विभेद?
उनीहरू पटक्कै यस्तो चाँहदैनन्
उनीहरू चाँहदैनन् दैवलाई विभेदकारी भन्न
त्यसैले उनीहरूको एउटा माग छ:
हे दैव!
मलाई एउटा मिठो मृत्यु दिनुहोस्
कृपा गरेर कुनै कष्टबिना नै
मेरो प्राण लिनुहोस्
बुझ्नुहोस्, छोराले खुवाएको अमृत र
छोरीले पिलाएको पानी एकसमान छन्
छोराले दागबत्ती दिएको उसलाई स्वर्ग
र छोरीको काखमा अस्ताएको मलाई नर्क
नपठाइयोस् ताकि
मैले हजुरलाई विभेदकारी भन्न नपरोस्
हे भगवान्!
विचार पुर्याइयोस् कि
बाँचुञ्जेल हजुरसँगै अपेक्षा गरेर
मरेपछि हजुरको उपेक्षा गर्न नपरोस्
मैले हजुरलाई विभेदकारी भन्न नपरोस्।
क. न. पा -०३, सिन्धुली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।