तिम्रो कथामा शब्द बन्न –
यो नदीले लाखौँ वर्षसम्म यी पहाडलाई परिक्रमा गरेको छ
यो वर्षाले करोडौँ वर्षसम्म यो जमिन सिँचेको छ
यो दुःखले हजारौँ वर्षसम्म मान्छेहरूलाई रुवाएको छ

तिम्रो कथामा शब्द बन्न –
यो लालुपाते सयौँ वर्षदेखि यो गाउँमा फुलेको छ
यो हलोले सयौँ वर्षदेखि यो खेत जोतेको छ
यो कुलो सयौँ वर्षदेखि यो गाउँमा बहेको छ

तिम्रो कथामा शब्द बनेर रहन –
चङ्गा उड्दै यहाँसम्म आइपुगेको छ
हिमाल यति अग्लिएको छ
चमेरोले उज्यालोलाई बिर्सिसकेको छ

तिम्रो कथामा शब्द बनेर रहन –
धान फल्दै छ
शीत पर्दै छ
घाउ पाक्दै छ
रगत बहँदै छ

तिम्रो कथामा शब्द बनेर रहन
घामले मेरा औँलाहरू पहिरेको छ ।