लोभलाग्दो शीतलता
मनमोहक हरियाली
बिचमा निर्जन र उजाड बस्ती
मानौँ यो बस्तीले कुनै युद्ध हारेको होस्
चारैतिर सुकेका र पालुवा पालाएका रुख
सायद सबैलाई रगतको खोलाले बगाए
कस्तो अनौठो बस्ती
जहाँ
अनावश्यक झाँगिएका फूलका बोटहरू
अनि मानाव निसान भन्दा
जङ्गली गन्ध बढी भेटिन्छ
कस्तो अनौठो बस्ती
जहाँ
फूलहरू भन्दा काँडा ज्यादा छन्
हुँदो हो कुनै समयमा
मानिसका श्वास र पदचापले गुन्जयमान
बालसुलभ गीत र हाँसोले प्राणमय
झुल्दो हो पाकेका कुनै फलका दानाहरू
फुल्दो हो आरु र पैँयुसँगै
नवकोपिलाहरू
डुल्दो हो चरीहरू डाली डाली
खुसीले उन्मत्त भई
बजउँदो हो कुनै प्राणी
विजय र नविनताको धुन
त्यसपछि यो गाउँले युद्द हार्यो
समयसँगको महाभारत युद्दमा
नराम्रोसँग हार्यो र
आज यो ठाउँको
यो अवस्था भयो
आजकल यहाँ ती आदिम बाँसुरी बजाउनेका आत्माहरू
भड्किन्छन्
यहाँ ती बाल अट्टाहासहरू
तरङ्गित हुन्छन्
ती पदचापहरू प्रतिध्वनित हुन्छन्
ती चराका चिरबिर झाडितिर
कतै फुस्किन्छन्
त्यो भड्किएको आत्मा
त्यही न्यानोपना आत्मियता
अनि त्यही अट्टाहास
त्यही मुस्कान खोज्दै
सिमालको भुवा जस्तै
यत्र तत्र कुना कुना
डुल्दछ
बिचरा निर्जन बस्तिमा के भेटोस
त्यसले आफ्नो बाँसुरी समेत भेट्टाउँदैन
सायद
केही महिनाअघि नै
डडेलोले खाइसक्यो
अनि बिना बाँसुरी
झाडीबाट उम्कँदै चौतारीमा बस्छ
सुस्ताउँदै यसो माथी डाँडा तिर हेर्छ
त्यसपछि ऊ एकपटक झस्किन्छ
किनकी डाँडाको चौतारोमा
ऊ जस्तै कुनै आत्मा सुस्ताइरहेछ ।

 

मध्यनेपाल न.पा. ९८, करापु
लमजुङ