निरन्तर
अझै पनि निरन्तर
जन्मिन तयार छन्
योद्धाहरू
ती
आमाहरूका पेटमा
जो सिँगो कर्णाली
बोकेर हिँड्छन्

ती झुपडीहरूमा
जसको शिर नजिकैबाट
“टेकअफ” र अवतरण
भइरहन्छन्
सत्ताका नाइके बोकेका
जहाजहरू

त्यो बस्ति
जस्को छाति भएर
गुज्रन्छन्
धुलोको अघि अघि
सेतो प्लेटवाला
गाडीहरू

आज हेर्नुस् त
नारायणीसँगै बगेका छन्
डिग्रीको सर्टिफिकेट थन्क्याएका युवाहरू
पेरुको जँगल हुँदै मेक्सिकोको सिमानासम्म

तपाईं देख्नुहुन्छ
हिउँसँगै पग्लिएका आमाका सपनाहरू
बाका भरोसाहरू
जो बेचिरहेछन् खाडीमा
रगतले लेखेको पहिचान

त्यसैले
अब बदल्नु छ सत्तासँग
साटिएका सुस्ता र कालापानीको
इतिहास
गाड्नुछ जँगे पिल्लरसँगै
स्वाभिमानको झण्डा

हो
यही स्वाभिमानको जिउँदो
इतिहास निर्माण गर्ने
आधार हुन्
यी झुपडीहरू

जहाँ जन्मिने छन्
निधारमा कफन बाँध्नेहरू
यो त्यही बस्ती हो जहाँ जन्माइनेछन्
आगो खाने सपुतहरू
तथापि यो पनि
निश्चित छ कि
कयौँ योद्धाहरूको सहादत निश्चित छ
तर पनि जन्माउन तयार छन् पेटहरू
र जन्मिन तयार छन् क्रान्ति नायकहरू
सीमाका पहरेदारहरू

अनि पो थालिनेछ
क्रान्तिको
विजारोपण
अनि पोतिनेछ
राष्ट्रियताको सिम्रिक रङ

आमूल परिवर्तनको नयाँ
रङ ।

 

कोहलपुर १२, बाँके