कविताले मान्छेले नदेखेको उसको वर्तमान देखाइदिन्छ
इतिहासले आँखा चिम्लिएको विगत बिउँताइदिन्छ
कसैले सोच्न नसकेको भविष्यको वाणी गरिदिन्छ
त्यसैले मलाई कविताका आँखाबाट देश र दुनियाँको
उद्घाटित रहस्यको संसार हेर्न मन पर्छ

कविताले कहिलै आँखा चिम्लँदैन
इमानको टाउको निमोठ्नेहरू
झुटको खेती गर्नेहरू
बेइमानसँग कपटपूर्ण साइनो गाँस्नेहरू
धमिलो पानीमा माछा मार्नेहरू
सबैको हैसियत कविताले उदाङ्गो पारिदिन्छ
मलाई कविताका नचिम्लिएका आँखा बनेर
उदाङ्गो त्यो परिदृष्य हेर्न मनपर्छ

कविताले कहिलै नदेखिएका कुरा
नदेखाउन खोजिएका कुरा
नदेखून् भनेर छोपिएका कुरा
नदेखाई छोडेका कुरा
ढाकछोप गरिएका कुरा
सबै, सबै छताछुल्ल पारेर देखाइदिन्छ
मलाई कविता बनेर लुकाउन खोजिएका
ती सबै कुराहरुलाई उदाङ्गो पारिदिन मन पर्छ

कविता बन्दुक बन्न सक्छ
कविता खुँडा, खुकुरी र भाला बन्न सक्छ
कविता एउटा मिसाइल बन्न सक्छ
अनि अन्धकार, अन्धविश्वास, अहंकार
अन्ध राष्ट्रवाद अथवा मान्छे मान्छेबीच
विभाजन ल्याउने वादहरूका फलामे बारहरू
र पर्खालहरू शब्दका गोलीले भत्काइदिनसक्छ
मलाई शब्दको लडाकु यानमा चढेर
सभ्यताका शत्रुहरूका किल्लाहरूमा
शब्द विस्फोटित गराई उनीहरुको सत्यानास गराइदिन मन छ

कविताले सामान्य कुरालाई असामान्य बनाइदिन्छ
वर्ड्सवर्थले देखेका हजारौं ड्याफोडिल्सजस्तै
कविताले कल्पनाको आरनमा शब्दहरू पिटर
सिर्जनाका सुन्दर काव्यात्मक गहनाहरू बनाउन सक्छ
मलाई ती काव्यात्मक गहना पहिरिएर
त्यो असामान्य संसारको परिक्रमा गर्न मन छ
मलाई कविता बन्न मन छ ।