पात्र नं. एक जुठीको छोरो माइलो
गोडा तीनेक वर्ष भएथ्यो साउदी छिरेको
कम्पनीको काम भनेर ठगेछ दलालले
चराउँदै थियो रे भेडा मरुभूमि पठारमा
गर्दन नै छिनाइदिएछ भेडा चोरले उसको
हिजो मात्रै एअरपोर्टमा झारे
उसलाई काठको बाकसमा ।
पात्र नं. दुई बलदेव थापा मगर
छाडेर आठ महिने गर्भवती श्रीमती घरमा
लड्दैथ्यो लडाईँ बटालियन तेह्र गोर्खा राइफल्समा
जम्मु कश्मीरको भिरमा आतंकवादीको गोली लागेर
रगतपच्छे ढल्यो रे पुकार्दै जय हिन्द, बन्दे मातरम्
भर्खरै फुक्यो आकाशवाणीले गर्वको समाचार ।
पात्र नं. तीन माल्लाघरे मास्टर कपिल
प्रा.वि. तहको मास्टरी राजीनामा दिएर
कोरियन भाषा परीक्षा पास गरेर
उडेको करीब भयो होला आठ महिना
कुल्ली कामले लखतरान
उठ्दै उठेन रे सुतेको ओच्छ्यानबाट
प्रवासी संस्थाले उठाउँदै छ रे चन्दा फर्काउन वतन ।
पात्र नं. चार ठकुरी टोलका कान्छा काजी
थिएन अभाव केही पनि बेरोजगार रहे पनि
सुनायो एकदिन साथीले अमेरिकी सपना
बुझाएर मनग्गे रकम मानव तस्करलाई
हिँडेछ महिनौँ लखतरान कैयौँ झाडी, चोरबाटो
हरिया झिँगा भन्किँदै गरेको लाशसँगै
भेटियो उसको पासपोर्ट पानामा जंगलमा ।
पात्र नं. पाँच लेकाली चेली डोल्मा घलान
अठार वर्षे जवानीले फक्रनै लागेकी फूल
काउकुती रहर साँचेर मनमा
पर्खेर बसेकी सपनाको राजकुमार
याम्बुबाट आएछ नाता पर्ने सोल्टी
रानी बनाउने सपना देखाएर
भगायो झिसमिसे बिहानमा
गिद्घहरूले लुछेपछि उसको शरीर बम्बईको कोठीमा
सडकमै फालेको भेटियो
एच.आइ.भी. सङ्क्रमित उसको शव ।
पात्र नं. छ नायब सुब्बाको सुपुत्र बिकेश
अष्ट्रेलियन सपनासँगै सकाएको हो कक्षा बाह्र
धरौटी राखेर शहरको घर मिल्यो सबै कागजात
पुलकित हुँदै
सपनाको देश टेकेको जम्मा महिना पाँच
बाबु आमाको प्यारमा पालिएको
पढाइबाहेक घरमा सिन्को नभाँचेको
माझ्नु पर्दा होटलको जुठा भाँडा अन्जान देशमा
डिप्रेसनले झुण्डिएछ कोठाकै सिलिङ पङ्खामा ।
टिप्दै गए पात्र एक एक घटना एक एक
बन्नेछन् ठेली कैयौँ पुराण, महाभारतका
उल्लेखित पात्र प्रतिनिधि मात्रै हुन् हाम्रो समाजका
प्रश्न एउटै सोध्नु थियो सबैलाई
“किन छाड्यौ देश तिमीले ?”
उत्तर अवश्यंभावी एउटै हुने थियो सबैको
“बेथिति छ यहाँ, छैन अवसर, हिँडेका हौँ सुखको खोजमा ।”
सिरानचोक गा.पा.–४, गोरखा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










