ढुङ्गा हानें, चिर्पट हानें
गफै हानें कति कति
कैले सेतोलाई कालो भनें
कैले कालोलाई सेतो भनें
कैले सेतोलाई सेतै पनि त भनें
तिमी धुलोमा थियौ
म पनि थिएँ धुलोमा
धुलोमा छौँ हामी तिमीलाई भनें
म उठेर धुलोबाट तिमीलाई उठ पनि त भनें
तर तिमी उठ्नै नजान्ने
उठे हिड्नै नजान्नें
हिंडे अगाडि बढ्नै नजान्ने
मै बढें अगाडि
तिमीलाई आउँदै गर पनि त भनें
अगाडि बढ्दै जाँदा
शासकका अगाडि
म आँखी भएँ
जेलनेल खाएँ
अनगिन्ती रगत पसिनापछि
शासकको घुँडा पनि त टेकाएँ
तिम्रैलागि
तिम्रो बाँदर लोट्ने भिरमा
डोजरलाई फनफनी घुमाएर
डोजरका दाँतले चरमचरम पत्थर चपाएर
तिम्रो आगन अगाडि सर्लक्को बाटो बेरियो
तिम्रै पखेरोमा उन्नाइस गाउँ देखिने भ्यू टावर उम्रियो
तिमीले त मात्र यौटा मत दागेका हौ
हेर त यतिका थोक मैले दिदाँ
भन त मैले के पाएँ ?
फगत अलिकति व्यवहार गडबड
केही तलमाथि हुँदा
ईत्ति धन मेरा खोकिलामा छुप्दा
तिमीले नजाति मान्छौ भने
यतिका जेलनेल किन सहनु ?
चिच्याउनु म केका लागि ?
कात्रोमा यौटा सानो खल्ती
ईश्वर सँगसँगै मेरो पनि अलिकति भक्ति
त्यो पनि तिम्रै खातिर
विकास सधैँ गरिरहन
ईश्वरझै उस्तै रहिरहन
जलहारीको यौटा कुनामा
नामै त हो खोपेको
भन नाम खोप्दा के बिराएँ ?
कविताः पशुपतिनाथको प्रस्ताव !
ढोकामा, चौकसमा,
छानोमा, गजुरमा,
हरेक भित्तामा
एक एक ईंटामा
ए मान्छे ! कताकता तिम्रो नाम !
नामका पुजारी तिमी
खोपायौ अहिले जलहारीमा
खोपौला नि है कुनै दिन
मूर्ति र शिवलिङ्गहरूमा पनि
रहर तिम्रो अमरत्वको
भस्मासुर र गिल्गामेसलाई पछि पार्ने
लाग्छ चाहना तिम्रो ईश्वरै हुनु हो
आउ बरु मन्दिर भित्रै बसौं
देऊ आशीष तिमीले पनि
सँगै रहँदा मन्दिरभित्र
केही अफ्ठ्यारो तिमीलाई होला
सायद तिम्रो द्वैध चरित्र,
या कात्रोमा सिलाएको खल्ती तिम्रो
राम्ररी नछोपिएला
उसो त दिएर सुन
तिमीले लगाएकै हौ गुन्
अब तिर्न यो तिम्रो गुन्
झुटो त कसरी बोलुँ- ईश्वर हुँ
सेतोलाई कालो कसरी भनुँ
नबनाउन तिमीलाई बदनाम
बरु मै छोडुँला है मेरो धाम्
मान्छे तिम्री बनाऊ
आफ्नै धाम्
आफैँ बन है
आफ्नो भगवान् ।
छविलाल ढकाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।