म के हुँ ? म मै हुँ
तिमी के हौ ? तिमी तिमी नै हौ
तर ऊ भन्छ, म र तिमी ऊ नै हो
सत्य के हो ? बुझौँ सबले

तथ्य के हो ?
सत्य त्यही हो, जो जहाँ छ, त्यो त्यहीँ छ
अनगिन्ती उच्छवास र विश्वासभित्र लुकेका
ती भावनाहरू तेरा हुन् कि मेरा हुन् ?
जब खुल्छ, अनि खुल्दछ विश्वास,
विश्वास नै हो, सबैको जवाफ ।

जोत हलो
म मन्दिरमा गएँ
मस्जिदमा भुलेँ
चहारेँ सिनागोगमा पनि
पाइनँ कहीँ केही फरक
सिवाय पहिरन तर
थियो चिन्तन एकै
थिए सबका भगवान्, अल्लाह एक
तर थियो रूप र सोच अनेक
म परेँ अलमल्ल
मानौँ के र कुन भनी !
दियो मनले र दिमागले
आस्तिक बन आफ्नो
सोचको करभला हो भला
धर्म सम्झी गर पौरख
होला पुण्य जगको भलो
नजोती हलो, हुन्न कसैको भलो !

हे भाखा हो
आफूलाई होइन
आफ्नो मनलाई राख शान्त
सुख–दुःखबाट टाढा होइन
आफ्नो संगी ठान मान
गर्दछन् मानिस आत्महत्या
केले ?
यो हो तीन सुख पाउने
लालसा, चरम इच्छा
सुख कहाँ छ ?
यहीँ छ भन्ने थाहा पाए
कसले गर्थ्यो त्यस्तो प्रयास ?
सुख–दुःख सबै हुन् मनका उपज
सोच तिमी मै हुँ, सुखद् मै हुँ दुःख
रक्सी पिई भुल्न चाहन्छौ, दुःख तिम्रो
र यही पिएर मनाउन चाहन्छौ उत्सव सुखको
सोच छ तिम्रो— कति तल ? कति माथि ?
म भन्छु—
सुख र दुःख यदि छन् कहीँ भने
हुन् हाम्रा साथी
सुख तिमी कति अर्बमा पाउँछौ
दुःख तिमी कति अर्बले घटाउँछौ ?
सोध ती अर्बपतिहरूलाई—
निद्रा कतिमा किने तिनले ?
कतिमा किने मनको सुख तिनले ?
तिमी स्वस्थ छौ
रोगमुक्त छौ
साठी पार गर्दा पनि
अनि ??


बानेश्वर काठमाडौँ
(संस्थापक, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान)