ऊ मान्छे अचम्मको छ
उसले के देखेको छैन
सबथोक देखेको छ
आफूले आफैँलाई पनि देखेको छ
उसले भीरपाखा देखेको छ
नदीनाला देखेको छ
खोल्साखोल्सी देखेको छ
जंगली बाघ देखेको छ
अनि धेरै राक्षसका अनुहारहरू देखेको छ
तर, ऊ अचम्मको मान्छे छ
दिनभरि डरलाग्दा घटना देख्छ
पाइलैपिच्छे अनगिन्ति कुरा देख्छ
मान्छेको लोभ देख्छ
पाप देख्छ
रिस देख्छ
ईर्ष्या देख्छ
सबथोक देख्छ ऊ मान्छे
यतिसम्म कि आफ्नै मृत्यु पनि देख्छ
अहं, मृत्युदेखि उसलाई
कत्ति पनि डर छैन
किनकि उसले धेरै मृत्यु
पार गरिसकेको छ
जितिसकेको छ
त्यसैले आजकल निडर भएको छ
ऊ मान्छे
माथि पर डाँडामा
उसको सानो बस्ने ठाउँ छ
उसलाई कसले किन उपहार दियो
विचरा उसलाई के थाहा र ?
यति ठूलो संसारमा
किन उसको आफ्नो धर्ती छैन
किन जिउने अवसर छैन
किन दस नंग्रा खियाउने एक टुक्रा छैन
तल फाँटमा पँहेलपुर तोरी फुलेको देख्छ
गैरी खेतमा लटरम्म बाला झुलेको देख्छ
धेरै मानिसको धेरै भएको देख्छ
तर, उसको केही छैन
त्यसैले उसको आफ्नो भन्ने केही छैन
कोही छैन
यसरी नाङ्गिएको छ ऊ
ऊ मान्छे राम्रोसँग नाङ्गिएको छ
सबै चीजबाट नाङ्गिएको छ
अब नाङ्गिन केही बाँकी छैन
नाङ्गिन एक मात्र बाँकी भएको
उसको आफ्नै मृत्यु हो
त्यो पनि उसले देखिसकेको छ
अनुभव गरी सकेको छ
अनुभूति गरिसकेको मृत्युको
उसलाई किञ्चित पीर छैन
त्यसैले ऊ मान्छेले
आफ्नै मृत्यु कुरिरहेको छ ।
पूर्वउपसचिव
नेपाल सरकार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला