म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र
मीठो निदलाई त्यागेर
मीठो सपनाको बलिदान दिएर
सूर्यको आगमनपूर्व पुग्न सक्छु
तिमी हिँडेको गोरेटोलाई छुन

म तिमीले पाइला टेकेको धरातल छुनकै लागि
सयौं कठिन यात्रा पूरा गर्ने साहस राख्न सक्छु
म तिमीलाई एक निमेष देख्नको लागि
लाखौं पाइला चाल्ने हिम्मत राख्छु

म तिम्रो एक मुस्कान देख्नका लागि
हजारौं पटक रुन अनि रेटिन सक्छु
म तिम्रो एउटा सानो खुसीको लागि
हजारौं पटक छुटिन अनि मेटिन सक्छु
साँच्चै, त्यो धरातल जहाँ मेरो सम्पूर्ण जीवन थियो
म तिम्रो खुशीको लागि एक निमेषमा त्याग्न सक्छु

मलाई अझै पनि याद छ तिमी मुस्कुराएको
जुन मुस्कानको सामीप्य पाउन
म पुनर्जीवन जन्मिन चाहन्छु
म आफ्ना सबै मुस्कानसँग तिम्रो खुशी
साट्न चाहन्छु
तिम्रो एक स्पर्शको निमित्त
लाखौं पटक टुट्न तयार हुन्छु

तर अपशोच
तिमीलाई मेरो निश्चल प्रेमको अनुमान छैन
तिमीलाई मेरो प्रतीक्षा पनि छैन
किनकि म वारि किनारको माझी सरी छु
तिमी पारि किनारको बटुवा

यो माझीले अझै आफ्नो जीवनको डुंगामा
धेरै यात्रा तय गर्नु छ
धेरै छालहरू तरेर आफ्नो गन्तव्यमा पुग्नुछ
तिमीलाई प्रश्न नगरी पनि म नतमस्तक छु
तिम्रो प्रेमको समीपमा नै नपुगी
म प्रेमरुपि सागरमा डुबिरहेको छु

ओहो ! यो निराकार प्रेमको
किन यति ठूलो परिधि ?
जहाँ छन् जीवन पुरै रंगाइदिन सक्ने सपनाका लहरहरू
जहाँ छन् जीवन्त अनगिन्ती मिठा सपनाहरू
जहाँ छन् निःस्वार्थ जिजीविषाहरू
जहाँ छन् अदृश्य रोमाञ्चक कल्पनाका तरङ्गहरू।

 

 

दोलखा
हाल : भक्तपुर