‘छोरा सपना ठूलो देख्नुपर्छ’
बाले भन्नुभएको सपनाको यस्तो आकार
आजसम्म पनि बेपत्ता छ
आँखा नचिम्लिएर हो न, न त्यो सपना नै नभएर हो
आज पनि त्यही सपना देख्ने हुटहुटीले सताउँछ
सपना देख्ने सपना अझै सपनामै छ

०००

एक तले घरको ठूलो कोठामा नै बसेर
बाले भन्नुभएको थियो त्यहीँ कुरा
त्यही घरको सानो कोठामा पल्टिएर देख्न सुरु भएको कोसिस
आज नौ तला उक्लिएर बा को ठूलो कोठा भन्दा अझै ठूलो फ्याटमा पनि देखिनँ
न सपना हराएको हो, न म नै हराएँ यहाँ
सपना परेको हो कि, दोधारमा म ?

०००

एक तले घर बढेर तीन तले भयो रे
बाको त्यो सपनाले पनि सायद आकार लियो होला
आज बाले सुनाउनु भएको छैन सपनाको आकारको कुरा
तर, त्यहीँ सपना खोज्न दैडिएको मेरो उमेरको आकार देखेर होला
बा सपना सुनाउनु हुन्न
आज बाध्यता छ, बाको मौनताको आकार हेरेर सपनाको आकार बुझ्ने मलाई ।

०००

होला, बाको बाले पनि त्यसै गर्नुहुन्थ्यो बालाई
अनि त बा मौन हुनुहुन्छ पहाडजस्तै
आज म त्यहीँ पहाडको रङ हेरेर उमङ्ग हुन सकिरहेको छैन
एकतले घरबाट जन्मिएको सपनाले तीन तले उचाईसम्म पोलेको छ
बाको मौनताले घोचेको छ
ए…निद्रा आइज र सुताई दे मलाई
मेरो सपना देख्ने भोक अझै भोकै छ ।
०००