
कि त आँखाहरू झुट बोल्छन्
कि त मनहरू कुरा बुझ्दैनन्
मेरा आँखासँग बात मार्दा
तिम्रा सुन्दर आँखाहरू
हो हो जस्तै गरेर
महसुस छ छ जस्तै भएर
बोलेकै हुन्
मलाई राजी छु है भनेर
मलाई खुसी छु है भनेर
परेलीहरू झिम्केकै हुन्
पातालमा त म
तब भासिएको हुँ
जब तिमीबाटै अस्वीकृत भो
प्रस्तावित रातो गुलाफ
जसमा मेरो प्रेम र सपना
सरोबरी भरिएको थियो
यदि तिम्रो आँखाले
साँचो बोलेकै हो भने
तिम्रै मनले कुरा बुझेन कसो
अथवा तिम्रो आँखाले त्यस्तो केही
नबोलेको हो भने
मेरै मनले कुरा बुझेन कसो
खै… !
कसो भएर त्यसो भो कुन्नी
यत्तिका वर्षसम्म
रनभुल्लमा छु
आजभोलि सोच्ने गर्छु
यो सारा सृष्टिभरिमा नै
कि त आँखाहरु झूट बोल्छन्
कि त मनहरू कुरा बुझ्दैनन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
