धर्ती चिर्दै सुन उब्जाउने दिन
मानो रोपी मुरी फलाउने दिन
बाउसोले खेत सम्याउने दिन
हलियाले हलगोरु नार्ने दिन
भोक प्यास निद्रा त्याग्दै
कर्तव्य फर्स्यौट गर्ने दिन
समृद्धिको आधारस्तम्भ दिन
असारै असारको किसानी दिन
खै ! किसान वर्षेनी ऋणमा डुब्दै छ
योजनाविहीन सरकार उदाङ्गो हुँदैछ
किसान समस्याले लाचार छ
फसलको दाम कहिल्यै पाउन्न
बिक्री नभए खेतमै सड्छ
कृषितन्त्र राजनीतिक हतियार बन्दै छ
उत्पादनमुखी होइन परनिर्भर बनाइँदै छ
उब्जनीवान खेतमा विशाल भवन ठड्याइँदै छ
कृषि क्रान्तिको सैद्धान्तिक बहस चल्दै चल्दैन
नारा, बकबास, भाषण, बहसले उब्जनी हुँदै हुन्न
किसानी स्वाभिमान कमजोर बनाइँदै छ
न बिउ-बिजन न पुँजी छ
न प्रविधि न प्राविधिक छ
न मल छ न जल छ
न अनुदान न बजार छ
न सिंचाइ न मौसम छ
खनीखोस्रिएकै भरमा खेती छ
सरकार मूकदर्शक रमिते छ
बिचौलियाको बिगबिगी चलेकै छ
दलालको चङ्गुलमा सरकार छ
खेती गर्नु दुस्साहस भएको छ
हलगोरु लम्पी स्किनग्रस्त छ
अनुदान गमला र झोलामा छ
पञ्चायती गाउँफर्क अभियानजस्तै
खेत खेत नेताको रोपाइँ अभियान छ
फिल्म सुटिङ फोटो सेसन चलेको छ
रोपाडे जात्रा झुटो प्रतिबद्धता रोपे जस्तो
आडम्बरी अद्‌भुत मेला चलाए जस्तै
एकअर्काको पोल खोलाखोल लेतोमा छ
वैज्ञानिक कृषि प्रणालीको उपहास छ
उत्पादन र आत्मनिर्भरताको वकालत छ
किसानलाई रुनु न हाँस्नु छ
फोगटिया मूल्यहीन नेताको खोकाइ छ
पतनोन्मुख अवमूल्यन नेता रोपाइँमा छ
स्यालको हुइँय्या कमिसनखोर गन्ध छ
ऐलेको असारे रोपाइँजात्रा सकिएको छ
छुपुछुपु रोप्ने होइन फाइँफुइँ चाला छ
ब्यानर/झण्डा गाड्नेको तँछाड कि मछाड छ
थामथुम गर्दै गमबुट लगाई रोपेको नाटक छ
बेर्नाको माला अश्लील हर्कत घाँटीमा छ
एकाथरिले मुठ्ठी कस्दै लाल सलाम भन्छन्‌
अर्काथरिले जय नेपाल ठोक्छन्‌
तातो न छारो कसैले अभिवादन गर्छन्‌
जसको जोत उसको पोत होइन नि
बिचरा गैह्री खेत झण्डावाल भएको छ
जसको झण्डा उसको खेत कहिएको छ
गैह्री खेत खेतै रहेन अमुक पार्टी रोपाड छ
मनसुली धान धानै रहेन अमुक धान भनिन्छ
रोपाइँमा जिन्दावाद मुर्दावाद घन्कियो
धानको बेर्ना नेपालको संविधान बनाइयो
देश उँधो गतिमा खेद्‌न नेता लागेकै छन्‌
अब त रोपाड संसदझैँ रणभूमि बनाउदै छन्‌ ।

महालक्ष्मी-१, ललितपुर