अनायास
सुमधुर आवाज गुञ्जियो
परिचित, तर दुर्लभ
पटक्कै नथाकेकी
रत्तिभर नआत्तिएकी
प्रेमपूर्ण भावमा झुल्केकी
मेरी प्रियतमा
अलिकति अलमलमा
थोरै हतासमा
मायालु शब्दहरूको सहारामा
नजरहरू जुधाइन्
मनहरू साटिन्
माया छताछुल्ल पारिन्
सायद, लामो अन्तरालपछि
थकान साटिन्
गरुङ्गो भारी बिसाइन्
उनी मेरी प्रियतमा
अवाक् भएँ म
हो, उनी मन नपरेको कहाँ हो र !
माया मरेको पनि कहाँ हो र !
अभिव्यक्त गर्ने अवसर पो पर्खेको त
किनकि माया भनिरहनु पर्दैन
बुझ्नु पो पर्छ भन्थे बुढापाका
आखिर उनको माया मेरा लागि
सदा निर्दोष हुन्छ
कञ्चन पनि हुन्छ
अनि सधैँ- सधैँ प्रिय
उनी मेरी प्रियतमा
हुन त उनको र मेरो
आँखा जुधेको
माया साट्न खोजेको
सपना सजाएको पहिलो पटक कहाँ हो र !
किनकि उनी भाका लाउँथिन्
म लय भर्थें
उनी सुमधुर गीतको परिकल्पना गर्थिन्
म संगीत भर्ने प्रयत्न गर्थें
हो, हाम्रो माया निश्चल थियो
मायामा सुन्दर जीवनको गाथा थियो
चञ्चलताका बीचमा
म स्तब्ध हुन पुगेँ
उनको मन्द मुस्कानले
कोकिल वचनले
क्षणिक घडबडाहट भयो
परकम्पनले छोयो
उनले र मैले नसोचेको भयो
र, आँखामा आँखा जुध्यो
मनमा मन गाँसियो
तनमा तन झुलियो
र, उनको र मेरो
नवीन कथाको शुरूवात भयो
अचम्म ! आज छलकपट थिएन
बरु उत्साह थियो
उमङ्गको आभाष हुन्थ्यो
तरङ्ग प्रवाह भएको थियो
केवल उनी मात्र बोलिन्
म चुपचाप रहेँ
असल श्रोता बन्ने प्रयास गरेँ
उनी अनवरत गुनगुनाई रहिन्
मलाई आफ्नो कब्जामा लिन
दिलदेखि मुस्कुराइन्
खित्का छाडिन्
आफ्नो प्रियतमा पुष्टि गर्न
मन र मस्तिष्क
सबै मलाई सुम्पिइन्
अचानक आकाशमा बिजुली चम्कियो
अवाक् मेरो निद्रा खुल्यो
मन प्रफुल्ल थियो
दिल खुस थियो
अभाव थियो केवल उनी
र, उनको निश्चल प्रेम
अर्धहोसमा भए पनि
सम्हालिनुपर्ने थियो
र, तन-मन काबुमा राख्नुपर्ने थियो
केवल थाहा थियो मलाई
त्यो एउटा सुन्दर सपना थियो
र, बुझ्नुपर्छ मैले
जतिसुकै सत्यता निकट भए पनि
सपना, सपनामा सीमित हुन्छ
विपनामा रुपान्तरण हुन सक्तैन
व्याकुल हुदै
तिर्खाको छाटपटाहटमा
जुरुक्क उठे
बाहिर उमङ्ग र उत्साह थियो
एक तमासले संगीतको धुन बजिरहेको थियो
जोडीका जोडी
सुर-ताल नमिले पनि
रमाइरहेका थिए
र, उनी सिन्दुर-पोतेमा
सजिएकी थिइन्
धपक्क बलेकी थिइन्
अर्कैकी भइसकेकी थिइन्
आलिङ्गनमा बाँधिएकी थिइन् ।
तापनि उनी
मेरो वरिपरि सल्बलाई रहन्छिन्
मायालु नजर पन्सिरहन्छिन्
थाहा छ मलाई
उनी मेरी प्रियतमा हुन्
र, उनी अर्कैकी प्रियतमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।