•
दार्जिलिङ
एकमुठी आश लिएर बसेको छ मरन्च्यासे जिन्दगी
जिन्दगी लुते छ तर बाँचेको छ
बाँच्नुको गन्ध छ
यो जिन्दगीलाई परिचय दिन हत्केलामा ठेला उठाउनु पर्छ
परिश्रमको गन्ध
परिवर्तनको गन्ध
सुँघेर बाँच्नु पर्छ जिन्दगी
कृत्रिम सुगन्ध घातक हुन्छ
घात र विश्वासको गन्ध
आत्मीयका हातेमालो गुलियो हुन्छ
सामीप्यका साइनो मिठो गन्ध
परायाको सम्झना पनि तीतो हुन्छ
शत्रुको चाल जस्तै दुर्गन्धी हुन्छ
कलुषित हुन्छ
फोहोर हुन्छ
क्रान्तिमा बारूद गनाउँछ
शान्तिमा शान्त !
बेहोसीमा कोही बेला सुराले भिजेको लुगाजस्तै गनाउँछ जिन्दगी
लहलह !! बाली रूङ्नु उभिएको बुख्याँचाजस्तै
रङ्गको गन्ध सुँघ्न नपाई सकिन्छ जिन्दगी
जिन्दगी रङ्गाउन सहज छ
गाह्रो छ तर जीवनको गन्ध सुँघ्न
आफूले छोडेको गन्ध फैलिन्छ भोलि
गाउँले गन्धको कुरा गर्छ
शहरले निगरानी राख्दछ
हिज आज जिन्दगीको गन्ध सुँघ्नु मन पर्छ
मलाई
मलाई
सुँघेर अपराधी पत्तो लगाउने कुकुर मन पर्छ
हिज आज
मेरो अघि उभिएको मित्रलाई सुँघ्नु मन छ
मेरो शुभचिन्तकले दिएको मानसम्मानलाई सुँघ्नु मन छ
मेरो आफन्तले दिएको प्रत्येक साइनो सुँघ्नु मन छ
मेरो जिन्दगी-गन्धको हल्ला सुँघ्नु मन छ
मेरो सफलतामा रमाउने अनुहारलाई सुँघ्नु मन छ
मेरो विफलतामा उत्सव मनाउने शत्रुको बिचार सुँघ्नु मन छ
मेरो पछि खबरदारी गर्ने महानुभावहरुको मर्दाङ्गीलाई सुँघ्न मन छ
बिज्ञापनमा देखाउने सेन्ट भित्र लुकेको वास्तविक गन्ध मन पराउँछु म।
स्थानीय राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरको
भाषण दिने बोलीको गन्ध सुँघ्न मन छ मलाई।
अनि
आफ्नै चिताबाट निस्केको धुवाँ बेस्सरी सुँघेर
घोषणा गर्नु मन छ:
जिन्दगीको गन्ध!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।