झर झर झरीको थोपाले शृङ्गारिएका तिमी
कति चाँडै फक्रिएछौ सुवास दिने भैसकेछौ
तिम्रो गुरुत्वकर्षण युक्त मोहित रूपले
तानिरहन्छ मन अनि नयनलाई
पवनसँगै तिम्रो नृत्य देखेर मान्छन् हार
कयौं पुरस्कृत विजेताहरू
तिम्रो पाउको पाउजुले सुन्दरता अनि
तिमीलाई दिएको सुरक्षा देखेर
बुझेका छन् आफैँ बलिया हुनुपर्छ भन्ने नारीले
तिम्रो कौमार्य अनि हरिया वस्त्रको सजावटले
तिजमा सत् वर माग्न बसेकी बर्तालु झैँ देख्दो हो
तिम्रा तनका आकर्षक घोगा
शिरमा सिउरिएको गुच्छा
बाटिएका मसिना केशले परिपक्वताको
संज्ञा दिइएकी छौ तिमीलाई
त्यसैले मन लाग्छ तिम्रो वरिपरि हुन
एक पागलप्रेमी भोक, प्यास र निद्रा त्यागेसरी
कयौं जुनि तिमीसँगै काट्न रहर लाग्छ
सिमी, बोडी र तरुलका पछ्यौरीले तिमीलाई बेर्दा,
अरु कसैले स्पर्श गरेको भान हुँदा डाहा लाग्छ
एक मन सोच्छु काटिदेऊ ती लहरहरू
सम्झ्न्छु तिम्रा बुढ्यौलीका सहारा हुन् ती लहराहरू
बुझ्न खोज्छु एक अर्काको अस्तित्व
अपरिचित कसैले तिमीलाई छुन खोज्दा
तिम्रा हातका नङ्ग्राले रगताम्मे बनाउँछौ
डराई डराई पहिलोपल्ट प्रेमले चुम्दा
सहर्षै स्वीकार्यौ
लाग्यो प्रेम आफैंमा शक्ति हो
तिमीले सिकायौ
इच्छा आफ्नो बिना आइलागे कोही
अस्तित्वको निम्ति अस्मिताको निम्ति
सक्नुपर्छ लड्न अन्तिम सास रहुन्जेल ।
मण्डन देउपुर न.पा–१, काभ्रे
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।