प्रकृति सँगै मनसुन पनि भकाछन् विवश
धान खाने मुसा जुटेर यहाँ गर्दाछन् दिवस

खेतबारी मुनि अविरल नदी सुसाइ बग्दछ
दुखिया माथि प्रचण्ड तापले सुकाइ डस्दछ

मल र बीउ जल र जीउ यो फाँटले पा’छैन
नीतिका कुरा थितिले खुटी आँतले ला’छैन

सुनेको छु यो कानले सधैं उनैको भासन
पेट पाल्न बरै पुगेर परै ल्याएको रासन

आएथ्यो अर्ना गएथ्यो चर्न नदीको तीरैतीर
शासकले गर्दा सर्वत्र आज ढलेको हाम्रो शिर

डढेलो नाच्छ वन जंगल डढाइ पारेर खरानी
खोजेर यहाँ पालुवा मुना के खालान् परानी

गमला भित्र गरेको रोपाइँ असार पन्ध्रमा
न खुशी मन न खुशी जन सूर्य र चन्द्रमा

खेतबारी बाँझो चौपाया थारो भोग्नेलाई पीरैपीर
गाउँ छोडी शहर रोज्नेले खालान् कसरी खिरैखिर

हे मेरी जेठी असारको बेठी कहिँकतै देखिन्न
प्यास मेट्ने पानी साथ दिने सानी हृदय भेटिन्न

दुःख फाँड्न भिडेको मान्छे पातलमै टोलायो
हर्ष बाँड्न हिँडेको मान्छे बादलमै बिलायो

बाउन्न हन्डर त्रिपन्न ठक्कर कसले पिलाउँछ
भन्देऊ साथी सहुलियत ऋण कसले दिलाउँछ

य‌ै मेरो बेंसी यै मेरो गाउँ रसिलो पाखा छ
किसानले पोख्ने हृदय छुने सुरिलो भाका छ

रिमी है झिमी पानी पर्यो चारदिशा घेरेर
दुई चुल्ठी बाटी खेताली आए स्याखु नै ओढेर

हिजो नि मेला आज नि मेला भोलि नि जानु छ
साहुको त्यो निष्ठुरी वचन पेटभरि खानु छ

जुनकीरी बल्दा कान्ला मुनि भ्यागुतो करायो
बिजुली चम्की चट्याङ पर्दा यो मन डरायो

शीतल छाया खोज्नेले जहाँ फेदै ढलायो
जलवायु कसर दिएर असर हिमालै जलायो

कृषि प्रधान देशमा आज अन्नको छ हाहाकार
युवा जति खोजेर विदेश लगार्छ यो सरकार

सन्तान परै समस्या वरै वृद्धाको अगाडि
साथ सहयोग को देला बरै बुझेर पछाडि

किसानको तस्वीर चोरेर तक्दिर कसैले नलानु
श्रम शोषण गरेर तिनको पसिना नखानु

नमरी बाँचे कालले साँचे अर्को दिन आऊँला
बाउसे लाउँदै हिलोमा खेल्दै असारे गाऊँला
~~~~~
गम्भीर दुवाडी
गजुरी-५,धादिङ्ग