रवि रोदन

फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाइँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ ।

कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे, ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे ।

कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ ।

हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ ।

नेपालतिरबाट निस्कने पत्रपत्रिकामा प्रोफेसनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ ।

नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो ।

पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शक र पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ ।

हामी जान्दछौँ, सामान्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ ।

हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोड्ने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले ।

सुरूसुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए। फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे ।

लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ ।

एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् ।

छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि माझिन सक्छन् भन्ने हो ।

कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो ।

अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ ।

केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ ।

कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् ।

यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्त्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नु भए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् ।

सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ ।
हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहना राखेका छौँ ।

आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ ।

अबका दिनमा पोस्टर कवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ ।

 

पढ्नुहोस् दोस्रो शृंखलामा संग्रहित पोस्टरकविताहरु:

 

स्नेह सायमी:  काठमाडौँका स्नेह सायमी कवि, लेखक, सम्पादक, मिडिया व्यवस्थापक र माक्र्सवादी विचारक हुन् । उनले २०३६ सालमा ‘चौतारो बोल्यो’ कविता संग्रहमार्फत आधिकारिकरुपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । उनका पुल र पर्खालहरू कविता पनि प्रकाशित छ । करिब एक दर्जन पुस्तक प्रकाशन हुन बाँकी छन् । रातोघर फाउन्डेसनका संस्थापक सायमी पारिजात स्मृति केन्द्रका सदस्य सचिव एवं प्रतिभा प्रवाहका संयोजक हुन् ।

*********

 

कविता राई: पशुपतिनगर इलामका कविता राई गाउँले व्यवसायी हुन् । उनका केही कविता संग्रह प्रकाशोन्मुख छन् ।

 

***************

 

कल्याण गुरुङ: दार्जेलिङका कल्याण गुरुङ पोखरामा विगत २१ वर्षदेखि शिक्षण पेशामा संलग्न छन् । उनका म लिलाम भइरहेको छु कविता संग्रह प्रकाशित छ । त्यसैगरी साहित्यसाधक मदन ओझाका विषयका साहित्यिक कृतिमाथि अध्ययन गरेर लेखिएको एउटा कृति पनि सार्वजनिक भएको छ । उनले ध्वनि साहित्यिक मासिक र दसैँको जामा कथा संग्रहको सम्पादन पनि गरेका छन् ।

*********

कमल भट्टराई : दार्जेलिङका कमल भट्टराई पेशाले शिक्षक हुन् । उनका आवाजका रङहरु, अन्तिम बिन्दु गरेर दुई कविता संग्रह प्रकाशित छन् । उनले केही पत्रपत्रिकाहरुको सम्पादन गरेका छन् ।

********

बाल कृष्ण थामी: खरसाङका बाल कृष्ण थामी पेशाले वास्तुकार इन्जिनियर हुन् । साहित्यमा र विशेषगरी खरसाङ रेडियोमा उनी गीतकारका रुपमा चिनिन्छन् । उनका गीत सय भन्दा बढी गीतहरु रेकर्ड भएका छन् । उनका एउटा गीत र एउटा कविता संग्रह प्रकाशोन्मुख छ ।

*****

मौन आवाज: थानकोट, काठमाडौँका मौन आवाज पेसाले व्यवसायी हुन् । उनको ‘यो शताब्दीमा म पनि छ’ कविता संग्रह प्रकाशित छ । उनी आर्ष नेपाल अनलाइन पत्रिकाको सम्पादक पनि हुन् ।

*******

छेवाङ् योञ्जन: पूर्व सिक्किममा जन्मेका छेवाङ् योञ्जन हाल कालेबुङ बस्छन् । पेशाले पत्रकार छेवाङ चिया बगान सङ्ग्राम समितिमार्फत् दार्जेलिङको चिया मजदुरहरुमाथि भइरहेका विभिन्न शोषणविरुद्ध अभियान चलाउँछन् । उनको सम्पादननमा लालीगुराँस पत्रिका प्रकाशित भइरहेको छ ।

************

मोजेस त्रिखत्री: मोजेस त्रिखत्रीको साहित्यिक नाम मोजेस ‘हृदय’ हो । उनी नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा लेखिरहन्छन् ।

******

 

मटिल्टा राई: अवकाशप्राप्त शिक्षक मटिल्टा राई टोटालाको फूल कथा संग्रहबाट चर्चामा आएकी हुन् । हाल खरसाङमा बसोबास गर्ने राईका जीवनका केही रेखा केही रङ, माइ डेडी, रुजालीजस्ता कृतिहरू प्रकाशित छन् ।