सपनीमा नआऊ तिमी पूरै दिन मेरो हुर्हुरी जल्छ
यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ

बिर्सनलाई हरदिन निहुँ हजार खोजी बस्छु तर
हिजोभन्दा आज किन तीव्र बढ्छ सम्झनाको दर
पल बित्छ, घडी बित्छ घिस्रिएर रात पनि ढल्छ
यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ

नरोकेर आँसु बरु बन्न दिँदा बन्थ्यो होला ताल
मेरो पीडा नजर गर्न हुन्छ जूनको सुस्त चाल
हावाहुरी के नै हो र मुटुभित्र औधि आँधी चल्छ
यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ

बाहिर बहार देखाएर बाँच्ने प्रयास गरेकै छु जारी
मन भन्छ भित्रभित्रै यो मान्छे कस्तो अत्याचारी
झिक्न खोज्छु आत्मबल तर पनि नौनारी गल्छ
यादहरू फक्रिएर मनकै बोटभरि पीडा भई फल्छ