कुनै वायुपंखी घोडा चाहिँदैन
हातैले छुन सकिन्छ
काला बादलबिच अल्झिरहेको जूनलाई
आँखा फर्रफराईरहेका ताराहरूलाई
मैले हेर्न चाहेको चाहीँ
त्यो जूनको दागमा कुनै घाउ छ कि छैन भनेर हो

समुद्र सुकिसकेपछि
ठूलो खाल्डोको डिलमा पुगेर हेर्दा
पिँधमा कुहिन ठिक्क परेका ह्वेल माछाको छातिभरि घाउ नै घाउ देखिन्छ

कालो नाली
शहरभरि नशाको रगतझैं दौडिरहेछ
यो रगत अनावश्यक ठाउँमा पनि दौडन्छ
यो रगत अनावश्यक ठाउँमा पनि पोखिन्छ

बटुकोको रक्सी रगत झैं रातो देखिन्छ
यो रगत अनावश्यक ठाउँमा उम्लन्छ

पीडाको जरा गहिरोसँग यसरी फैलिएको छ कि-
असह्य वेदनाले गाँजेपछि
त्यही बटुकोको रगतजस्तै रक्सी पिएर
शहरको कालो नालीमा पटक पटक पछारिइन्छ

म अस्पतालको ढोकामा बाहिर भित्र गरिरहेकोछु
भन्छन् श्रीमतीको मुटुमा कोठी छ
रगतको कोठीको डल्लो
यो रगत अनावश्यक ठाउँमा पनि जम्छ

हेर्न चाहान्छु जूनको दागमा पनि कुनै घाउ छ कि छैन

एउटा डक्टर छाति चिरी हाल्न हतारिन्छ
हातमा सर्जरी ब्लेड छ
रोकिएको, मेरो हातमा पैसा छ कि छैन भनेर हेर्न मात्र हो
अर्को डक्टर छुन पनि घिनाउँछ
भन्छ, पहिले तिम्रो सरकारलाई सोध्नु पर्छ

म के भनुँ
कसलाई आउँछु या कसलाई आउँदिन भनौं ?
घरलाई के भनौं?
मुर्दाघरलाई के भनौं ?
मसानलाई के भनौं ?
स्वर्ग, नर्क या धर्तिलाई के भनौं?
मान्छेहरूलाई के भनौं?
देवताहरूलाई भेटेर के भनौं?
धामी र मन्छिनेहरूलाई के भनौं?
उसलाई के भनौं?
उस्का छोराछोरी र बा आमालाई के भनौ?

उस्को श्रीमान्, न प्रश्न सोध्न सक्छ
न उस्को श्रीमान्, जवाफ दिन सक्छ
एउटा लाचार हुतिहारा
उसको देशजस्तै मृत
उसको सरकारजस्तै मौन
व्यवस्थाजस्तै बेहाल

म युद्ध लडेको देशको सिमानाको लागि होइन
लालपुर्जाको साँधको लागि हो
एउटा दलाल घरिघरि सम्झाउन आउँछ
“त्यो लालपुर्जाको नामसारी गर्ने ठीक समय यही हो”
डक्टर मेरो हातमा पैसा छ कि छैन भनेर हेर्छ

शत्रुहरू यही मौकामा
ढुङ्गाले अनुहार कुच्चिने गरि हिर्काउँछन्

सारा अज्ञात पापहरूको सजाय
झरनाझैं घोप्टिएर बर्सिएझैं मान्छु
या म त्यस्तै त्यस्तै कल्पना गरिरहन्छु

मृत्यु एक निमेष मुठ्ठी बाहिर बस्छ
मृत्यु एक निमेष मुठ्ठी भित्र पस्छ

हुँडारले हाँसो खाएको दिनदेखि
म एक्लो छु
म दु:खी छु
मैले करेसाहरू गोड्न छाडिदिएँ
र हुँडारले घर वरिपरि जंगल हुर्काएको छ
झम्टन तम्तयार

उनको अनुहारमा
फूल अझै मुस्कुराई रहेकै छ, ताजा छ
हुन त भवँराहरूको हल्ला असैह्य छ
हुरी पागल छ
टाढा हिमालका टुप्पोबाट तुषारो ओर्लने चाँजोपाँजोमा छ
तर म हातले फूलको डाँठ थामिरहेछु
वरिपरि मान्छेको भिड साउती गर्दैछ
हल्का हाँसो पनि सुनिन्छ
हल्का उदासी पनि देखिन्छ
भिडमा कोही चल्मलाउँछ र नजिक आएर
वसन्त नसकिएको कुरा सुनाउँछ
रात पर्दै जाँदा हेर्नु वरिपरिको भिड अवश्यै छाँटिन्छ
ठीक बाह्र बजे मान्छेको संख्या शून्य हुन्छ
भुत पनि भेटिन्न वरिपरि
कोही आफ्नो हुन्न

छोड यो कविता पनि कता कता बरालिइरहन्छ
हेर तिमी र म भोलि पनि सँगै गोदावरी खोला तरौंला
निदाइन्छ भने ल आजलाई सुतौं
प्रिय, सुम्सुमाएर सुस्तरी
तिम्रो दुखेको मुटुलाई पनि निदाउन भन ।